• १३ मंसिर २०८१, बिहिबार

दश वर्षपछि दोस्रो तला ढलान

blog

दश वर्षपछि दोस्रो तला ढलान भएको शीत भण्डार । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, चैत २७ गते । एक दशकदेखि अलपत्र परेको शीत भण्डार (कोल्ड स्टोर)को दोस्रो तला ढलान भएको छ । तानसेन–७, बाघखोरमा लामो समयदेखि अलपत्र बनेको कोल्ड स्टोरको १० वर्षपछि दोस्रो तला ढलान भएको हो । 

निर्माण सम्पन्न भएर पुनर्निर्माण गर्ने बेलामा बल्ल कोल्ड स्टोरको दोस्रो तला ढलान भएको हो । तानसेन नगरपालिका र भारत सरकारको सहयोगमा निर्माण सुरु भएको कोल्ड स्टोर अलपत्र भएको एक दशकपछि ठेकेदारले दोस्रो तला ढलान गरेको नगरपालिकाले जनाएको छ । 

निर्माण व्यवसायीको चरम लापरबाहीले कोल्ड स्टोर निर्माण अलपत्र परेको थियो । ठेकेदारलाई पटक–पटक ताकेता र कारबाहीको चेतावनीपछि काम गरेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो । 

तानसेन नगरभित्र उत्पादन हुने कृषिजन्य बस्तु भण्डारण गर्न ११ वर्षअघि २०६९ साल फागुन २३ गतेदेखि ठेक्का सम्झौतापछि निर्माण सुरु भएको थियो । यद्यपी शीत भण्डार निर्माण नसकिँदै निर्माणको काम एक दशक अलपत्र बनेको थियो । भारत सरकारबाट शीत भण्डार निर्माणको काम पूरा गर्न बजेट दिने आश्वासन र ठेकेदारलाई कारबाहीको चेतावनीपछि बल्लतल्ल दोस्रो तल ढलान भएको आचार्यले बताउनुभयो । 

सम्झौता भएको सुरुदेखि नै कछुवा गतिमा निर्माण भएको शीत भण्डारको रकम भुक्तानी नभएपछि निर्माण व्यवसायीले निर्माण रोकेर काम अलपत्र पारेका थिए । दुई वर्षभित्र सम्पन्न गर्ने गरी चार करोड ९९ लाख ९१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमा तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपियाँ लगानी गरेको र बाँकी रकम भारतीय दूतावासले बेहोर्ने सहमति भएको थियो । 

नगरपालिकाले हालसम्म व्यवसायीलाई दुई करोड १६ लाख रुपियाँ भुक्तानी दिइसकेको छ । रकम दिए पनि ठेकेदारको लापरबाहीले शीत भण्डारको काम समयमै अगाडि बढ्न नसकेको नगरपालिकाको भनाई छ । चार रोपनी क्षेत्रफलमा बन्दै गरेको शीत भण्डार सम्पन्न भएको भए २०० मेट्रिक टन तरकारी तथा फलफूलजन्य बस्तु भण्डारण गर्न सकिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।