• १४ वैशाख २०८१, शुक्रबार

निर्वाचन सफल पार्न सबै जुट्नुपर्छ : प्रमुख आयुक्त थपलिया

blog

धर्बेन्द्र झा 

धनुषा, बैशाख ३ गते । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनको समय नजिकिदै गएकाले अनावश्यक तर्क वितर्क नगरी सबैजना निर्वाचन सफल पार्नमा जुट्ने बेला आएको बताउनुभएको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा शनिबार निर्वाचन आयोगले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा उहाँले यस्तो बताउनुभएको हो । निर्वाचनको मिति तय गर्नुअघि संविधान र कानुनलाई ध्यानमा राखेर विभिन्न प्रकारले विभिन्न विषयमा छलफल भएपश्चात सरकारले निर्वाचनको मिति घोषणा गरेको उहाँले बताउनुभयो ।

देशमा स्थानीय तह निर्वाचनको माहोल तयार भइसकेको अवस्थामा अब स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसले दुर्घटना निम्त्याउने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।  उहाँले भन्नुभयो, “देशमा निर्वाचनको माहोल तयार भइसकेको छ । कँहि कतैबाट अझै पनि निर्वाचनको विषयमा विभिन्न शंका उपशंका हुनु राम्रो होइन ।” निर्वाचन आयोगले निर्धारण गरेको तालिका बमोजिम अब हामी सबैले निर्वाचन सफल गर्नमा जुट्नुपर्छ उहाँले भन्नुभयो ।

निर्वाचनलाई उत्कर्षमा आजसम्म पुर्याउन मिडियाकर्मीको भूमिका महत्वपुर्ण भएको भन्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निषपक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हामी सबैले आ—आफनो ठाँउवाट भूमिका निर्वाह गर्नुपर्छ उहाँले भन्नुभयो । सुशासन र समृद्धिमा पुग्नका लागि पहिलो पाइलाको रुपमा निर्वाचन रहेकाले निर्वाचनलाई सफल पार्नु सबैको दायित्व भएको प्रमुख आयुक्त थपलियाले चर्चा गर्नुभयो । निर्वाचन अचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले यसको पालना सबै पक्षले गर्नुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचन आचारसंहितालाई सामान्य रुपमा नलिन आग्रह गर्दै  यसको उल्लंघन भएको विषयमा आयोगले जानकारी प्रप्त गर्दा स्पष्टीकरण सोधेर कानुनअनुसार कारवाही हुने उहाँले बताउनुभयो । अचारसंहिंता उल्लंघन भएको प्रमाणित भएमा एक लाख रुपियाँ जरिवानादेखि  उम्मेदवारी खारेजीसम्मको कारबाही हुनसक्छ उहाँले भन्नुभयो । 

निर्वाचनको प्रक्रिया शुरु भएपश्चात् निर्वाचन अचारसंहिता उल्लंघन भएको नभएको विषयमा पालिकादेखि जिल्लासम्म संयन्त्र निर्माण भएको जानकारी समेत दिनुभयो । अचारसंहितामा समाजिक संजालको विषय गम्भीररुपमा उठेकाले प्रेस काउन्सिल नेपाललाई यसको नियमनको लागि आयोगले अनुरोध गरिसकेको बताउनुभयो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका सचिव पवन अाचार्य र निर्वाचन आयोगका उपसचिव लक्ष्मी शर्माले पत्रकारले समाचार तयार पार्दा ध्यान दिनुपर्ने विषयबारे चर्चा गर्नुभयो । निर्वाचन आयोगले निर्धारण गरेको अचारसंहिताको विषय कार्यान्वयन गरेमात्र निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने उहाँहरुले विश्वास व्यक्त गर्नुभयो ।