• १३ मंसिर २०८१, बिहिबार

वैज्ञानिक व्यवस्थापनले वनमा बढ्दो उत्पादन

blog

वन व्यवस्थापनको विषयमा गरिएको अन्तरक्रिया । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत २६ गते । वैज्ञानिक प्रणालीले वन व्यवस्थापन गर्दा सुशासनसँगै वन क्षेत्रको विकासमा टेवा पुगेको बताइएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको अन्तरक्रियामा वक्ताले वैज्ञानिक वन संवर्धन प्रणालीले काठ उत्पादन र रुख पुनरुत्पादन समेत बढ्दैभएको जनाएको हो । 

कार्यक्रममा महासङ्घका केन्द्रीय अध्यक्ष रेणु सेनले सात प्रदेशमा नियमावली निर्माण भए पनि कार्यविधि निर्माणमा अलमल भएको बताउनुभयो । लुम्बिनी प्रदेशले कार्यविधि निर्माणगरी वन संवर्धन प्रणालीअनुसार वन व्यवस्थापन गर्दा उत्पादनमा गुणात्मक वृद्धि भएको बताइएको छ । 

नेपालमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापन लागू गर्नुभएका डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले वैज्ञानिक वन व्यवस्थापनको विषयमा समुदायमा भ्रम सिर्जना गरेको बताउनुभयो ।

उहाँले वैज्ञानिक वन व्यवस्थापनमा रुखको जिपिएस लिएर हरेक रुखको तथ्याङ्क लिने गरेको बताउनुभयो । खाली ठाउँमा बृक्षरोषण गरी खुला चरीचरन समेत बन्द भएको बताइएको छ । अहिले कपिलवस्तुमा वन व्यवस्थापन वन विज्ञान अध्ययन गर्ने विद्यार्थीको सिक्नेस्थलको रूपमा विकास भएको बताउनुभयो । 

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष डिल्लीराज रेग्मीले वन व्यवस्थापनको अवसर, अवस्था, चुनौती एवं आगामी कार्यादेश विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा सहभागी सामुदायिक वनका प्रतिनिधिले राजस्व दररेट र गोलिया मापन गर्ने सूत्र परिवर्तन गर्दा उत्पादन भएका काठ बिक्रीमा समस्या भएको गुनासो गर्नुभयो । 

वनमा देखिएका समस्यालाई सरकारसँग छलफल गरी समाधान गर्न पहल गर्ने महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापाले बताउनुभयो ।