• २६ वैशाख २०८१, बुधबार

तमानखोलामा कृषि सङ्कलन केन्द्र बन्दै

blog

कृषि सङ्कलन केन्द्र ।

ढोरपाटन (बागलुङ), चैत २६ गते । बागलुङको तमानखोला गाउँपालिकामा कृषि सङ्कलन केन्द्र निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ४० लाखबाट सङ्कलन केन्द्र निर्माण गर्न थालिएको हो । 

गाउँपालिकाअन्तर्गतका किसानले उत्पादन गरेको कृषिउपज÷वस्तुलाई सङ्कलन गरी बजारीकरण गर्नका लागि केन्द्र निर्माण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । “तमानखोलाका अधिकांश नागरिक कृषि पेसामा आबद्ध भए पनि हालसम्म सङ्कलन केन्द्र नहुँदा बजारीकरणमा समस्या हुँदै आएकामा अब समस्या समाधान हुनेछ”, उहाँले भन्नुभयो । अध्यक्ष मगरले तमानखोला-१ स्थित बोङ्गादोभानमा केन्द्र बन्ने भन्दै उक्त केन्द्र निर्माण भएपछि कृषकलाई राहत हुने बताउनुभयो । 

अहिले किसानले उत्पादन गरेका वस्तुले बजार पाउन नसकेको भन्दै केन्द्र बनेपछि गाउँ-गाउँबाट कृषि उत्पादन सङ्कलन गरेर यहाँ ल्याउने र बिक्री वितरण गरिने उहाँले जानकारी दिनुभयो । “यहाँका धेरै किसानले तरकारी, फलफूललगायत अन्य कृषिजन्य वस्तु उत्पादन गर्दै आउनुभएको छ । उत्पादनले सजहरुपमा बजार पाएको छैन”, अध्यक्ष मगरले भन्नुभयो, “पालिका केन्द्र सञ्चालनमा ल्याएसँगै बजारीकरणको जिम्मा लिएर कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना बनाएको छ । किसानलाई उचित मूल्य दिलाउन हामीले योजना बनाएर लाग्नेछौँ । सङ्कलन केन्द्रमा छवटै वडाबाट उत्पादन ल्याइनेछ ।”

यही चैत ४ गते सम्झौता भएर केन्द्रको काम सुरु भएको छ । धमनी देउराली निर्माण सेवाले आगामी जेठ मसान्तमा सक्नेगरी ३० लाखमा निर्माणको जिम्मा लिएको गाउँपालिकाका इञ्जिनियर अर्जुन यादवले बताउनुभयो । केन्द्रमा पशुजन्य वस्तु र कृषि उत्पादन सङ्कलन गर्ने फरक-रक कोठाहरु निर्माण हुने उहाँको भनाइ छ । केन्द्रमा दुई वटा ‘कोल्ड रुम’ समेत बन्ने उहाँले जानकारी दिनुभयो । स्थानीय प्रेमबहादुर पुनले गाउँमा उत्पादन भएका तरकारीले बजार नपाउँदा कृषकहरु मारमा पर्दै आएको भन्दै सङ्कलन केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिल्ने बताउनुभयो । 

तमानखोलामा ठूलो बजार नरहेको हुँदा किसानले डोकोमा बोकेर बुर्तिबाङ बजारसम्म पुर्याउनुपर्ने बाध्यता रहेकामा उक्त बाध्यताको अन्त्य हुने उहाँको भनाइ छ । गाउँपालिकाले निर्माण गरिरहेको उक्त केन्द्रमा सबै वडाबाट तरकारी तथा कृषिजन्य उत्पादन सङ्कलन गरी ल्याउने र ठूला-ठूला बजारमा यहीँबाट ‘सप्लाई’ गर्ने हुँदा बजार र उचित मूल्य पाउनेमा आशावादी रहेको पुनको भनाइ छ । रासस