• २७ वैशाख २०८१, बिहिबार

गुणस्तर र उर्वराशक्ति बढाउन माटो परीक्षण

blog

माटोको नमूना सङ्कलन गर्दै परीक्षण टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २६ गते । माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेका बेला त्यसको नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेर माटो परीक्षण गर्दै सो को अवस्थाबारे किसानलाई जानकारी गराउन सुरु गरेको छ । 

नेपालगन्ज उपमहानगरको कृषि शाखाका अनुसार माटोको वास्तविक अवस्था नबुझेर जथाभाबी र अन्धाधुन्ध हिसाबले रासायनिक मलको प्रयोगका कारण माटोको गुणस्तर र उर्वराशक्ति घटिरहेकाे बेला त्यसको नियन्त्रणका लागि माटो परीक्षण सुरु गरिएको हो । 

कृषि शाखा प्रमुख अम्बिका रिजालले माटो तथा मल परीक्षण केन्द्र खजुराका विज्ञ टोलीद्वारा माटो परीक्षण भइरहेको बताउनुभयो । माटो तथा मल परीक्षण केन्द्र खजुराका कार्यालयका प्रमुख कोमल शाही नेतृत्वको विज्ञ टोलीले माटो परीक्षण गरिरहेको रिजालले बताउनुभयो । पहिलो दिन कृषकलाई जम्मा गरेर माटो परीक्षण प्रक्रियाका बारेमा अभिमुखीकरण गर्ने र भोलिपल्ट शिविर सञ्चालन गरेर परीक्षण गरिरहेको कृषि शाखा प्रमुख रिजालको भनाइ छ । 

अभिमुखीकरणमा माटोको नमूना सङ्कलन कसरी गर्ने, कस्तो माटो परीक्षण गराउने, के के उल्लेख गर्ने लगायतका विषयमा कृषकलाई जानकारी गराइन्छ । सोही क्रममा नेपालगन्ज वडा नम्बर १९ मा ८० जना कृषकको माटो परीक्षण गरिएको कृषि शाखा प्रमुख रिजालले जानकारी दिनुभयो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म माटो परीक्षण गरिएको थियो । 

नेपालगन्ज उपमहानगरपालिकाका आर्थिक विकास संयोजक गोपाल पुनको अध्यक्षतामा शिविर सम्पन्न भएको थियो । त्यसक्रममा बोल्दै पुनले शिविरबाट किसानहरुले आफ्नो माटोको वास्तविक अवस्थाबारे जानकारी पाउने र त्यसले उनीहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । अब यसपछि वडा नम्बर २३ मा परीक्षण शिविर आयोजना गरिनेछ । 

माटोको गुणस्तर र उर्वराशक्ति बढाउन माटो परीक्षण शिविर गरिएको रिजालले बताउनुभयो । पछिल्लो समय कृषकहरूले माटोको अवस्था नबुझेर रासायनिक मलको प्रयोग बढाइरहेका छन् । अनियन्त्रित रासायनिक मलको प्रयोगले माटोको गुणस्तर खस्किरहेको विज्ञहरू बताउँछन् ।