• १० मंसिर २०८१, सोमबार

कर्णालीका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक

blog

जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालय ।

नवीन सुवेदी

सुर्खेत, चैत २५ गते । कर्णाली प्रदेशका विद्यार्थीको हातमा वर्षेनी समयमै पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित हुने गरेको छ । कहिले कागजको अभाव त कहिले आएका पाठ्यपुस्तक समयमै ढुवानी नहुँदा विद्यार्थीको हातमा समयमै पुस्तक पुग्दैनथ्याे । 

नयाँ शैक्षिक सत्र सकिएर त्रैमासिक परीक्षासम्म पनि कर्णालीका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउँदा समस्या हुने गरेको थियो । तर यो पटक कर्णाली प्रदेशमा शैक्षिक सत्र सुरु हुनु अगावै पर्याप्त पाठ्यपुस्तक आइपुगेको छ । यो वर्ष कर्णाली प्रदेशका ७९ वटा पालिकाकामा रहेका विद्यालयहरुमा लगभग पाठ्यपुस्तक पुगिसकेको छ  ।

कर्णालीमा सरकारी निकाय केन्द्र र निजी क्षेत्रको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतले पाठ्यपुस्तक विक्री गर्दै आएको छ । केन्द्रले हालसम्म २६ हजार र सहकारीले नौ हजार सेट पाठ्यपुस्तक आएको जनाएको छ । सरकारी र निजीले छुट्टाछुट्टै पाठ्यपुस्तक कर्णालीका जिल्लाहरुमा पठाएका छन् । जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयले लगभग दशै जिल्लामा पाठ्यपुस्तक पुग्न लागेको जनाएको छ । 

विगतका वर्षहरुमा केन्द्र, स्थानीय तह र विद्यालयहरुबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको थियो । तर यो वर्ष शैक्षिक सत्र शुरु हुनु अगावै पाठ्यपुस्तक पठाउन सुरु गरिरहेको केन्द्र सुर्खेतका प्रमुख भैरवबावु पन्तले जानकारी दिनुभयो । कक्षा १–४ का पाठ्यपुस्तकहरुको विक्री जिम्मा पाएको सहकारीले कर्णालीका जाजरकोट, दैलेख, सुर्खेत, मुगु, कालिकोट र मुगुमा पठाउने गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी उपभोक्ता सहकारी सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो ।  

शिक्षा मन्त्रालयले सम्बन्धित पालिकाको खातामा पाठ्यपुस्तक खरिद गर्न रकम पठाउने गरेको छ । पालिकाहरुले विद्यालयको खातामा पाठ्यपुस्तक खरिदका लागि सुरुमा ७५ प्रतिशत रकम पठाएपछि विद्यालयले पुस्तक किन्ने गरेका छन् । विद्यालयहरुले पुस्तक खरिदका लागि सिँधै केन्द्र र निजी तथा पुस्तक व्यवसायीहरुबाट कितावबखरिद गर्ने गरेका छन् ।