• ४ पुस २०८१, बिहिबार

एउटै व्यक्तिलाई चौधवटा लघुवित्तको ऋण

blog

विजयकुमार साह 

ढल्केबर, चैत २५ गते ।  धनुषाको मिथिला नगरपालिका–७, केमलीपुरकी पूजा दमाईं १४ वटा लघुवित्तको ऋणी हुनुहुन्छ । एउटा लघुवित्तको ऋण तिर्न अर्कोबाट ऋण लिने गर्दै जाँदा उहाँ १४ वटा लघुवित्तको ऋणी बन्नुभएको हो ।  

१० वर्षअघि पहिलो पटक स्वावलम्बन लघुवित्तबाट बाख्रापालन गर्न २० हजार रुपियाँ ऋण लिएको सम्झिँदै पूजाले भन्नुभयो, “त्यो ऋण भाखा अवधिभित्रै बुझाएँ । त्यसपछि सोही लघुवित्तबाट एक लाख ५० हजार रुपियाँ ऋण लिएँ । त्यो ऋण तिर्न नेरुडे लघुवित्तबाट एक लाख रुपियाँ लिएँ । यो व्रmम थपिँदै जाँदा १४ वटासम्म पुगेको हो ।” सबै लघुवित्तको 

जोड्दा २० लाख रुपियाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको उहाँको अनुमान छ । अहिले आफूसँग ऋण तिर्ने कुनै उपाय नभएको बताउँदै पूजाले ऋण तिर्न लघुवित्तका कर्मचारीले निकै दबाब दिने गरेको बताउनुभयो । लघुवित्तका कर्मचारीले किड्नी बेचेर अथवा जुनसुकै काम गरेर भए पनि ऋण तिर्न दबाब दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा लघुवित्तका कर्मचारीले किड्नी बेचेर भए पनि ऋण तिर्न दबाब दिएपछि म किड्नी नै भए पनि बेच्छु भनेर  हिँडेको छु तर बेच्न सकेकी छैन ।”

एक लाख रुपियाँ ऋण लिँदा बिमा, सेवा शुल्क र बचत शीर्षकमा १५ हजार रुपियाँ कटाउँछ । किस्ता तिर्न नसक्दा लघुवित्तले हरेक वर्ष ब्याजसमेत साँवामा जोडेर नयाँ ऋण बनाउँछ । त्यसले गर्दा ऋणले थिचिँदै गएको पूजाको बुझाइ छ । उहाँले भन्नुभयो, “लघुवित्तको फन्दामा परेर बर्बाद भएँ । सम्पत्तिको नाममा एक कट्ठा जग्गा र त्यसमा बनेको टहरा छ । त्यो बेचेर पनि ऋण तिर्न पुग्दैन ।” लघुवित्त संस्थाका कर्मचारीले सुरुमा समूह निर्माण गर्दा हामी अरू संस्थामा आबद्ध रहेको र ऋण लिएर के गर्ने भनेर पनि केही नसोधेको पूजा बताउनुहुन्छ । लघुवित्त संस्थाका कर्मचारीले जतिसुकै संस्थाबाट पनि ऋण लिन सकिने तर किस्ता भने नियमित तिर्नुपर्ने भनेर ऋण लिन आश्वस्त पारेपछि धेरै लघुवित्तबाट ऋण लिएको उहाँको भनाइ छ । 

उहाँका अनुसार गाउँमा लघुवित्त पीडित धेरै छन् । किस्ता तिर्न लघुवित्तका कर्मचारीले तनाब दिन थालेपछि गाउँकै अनिता नाम गरेकी एक महिला परिवारसहित भागेर भारतको दिल्ली जानुभयो । कतिपय घाँस दाउरा ल्याउने बहाना बनाएर नजिकैको जङ्गलमा दिन बिताउने गरेका छन् ।

ढल्केबरका बुधेश्वर महतोले नाफा र लाभांश बढाउने लोभमा एउटा ग्राहकलाई एकभन्दा बढी लघुवित्तले ऋण दिने गरेको बताउनुभयो । ऋणीको परियोजना, क्षमता र ऋण तिर्न सक्ने अवस्था छ कि छैन केही नहेरी एकै व्यक्तिलाई ऋण दिँदा ऋणीको साथै लघुवित्त पनि समस्यामा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लद्युवित्तले ऋणीको क्षमताभन्दा बढी ऋण प्रवाह गरेको छ । ग्राहकले पनि व्यवसायका लागि लिएको ऋण अन्य काममा खर्च गर्नाले ऋणले थिचिएको हो ।”

लघुवित्त संस्थाविरुद्ध सङ्घर्ष समिति धनुषाका अध्यक्ष मन्दिर लामाले जिल्लामा एक हजारभन्दा बढी लघुवित्त पीडित रहेको बताउनुभयो । जिल्लाको १८ वटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरिएको बताउँदै उहाँले १७६ जनाको निवेदन जम्मा भएको जानकारी दिनुभयो । उहाँले लघुवित्त पीडितको समस्या समाधानका गर्न केही दिनअघिमा नेपाल सरकार र लद्युवित्त संस्थाविरुद्ध सङ्घर्ष समितिबिच सम्झौता भएको बताउँदै लघुवित्तको मिटर ब्याजी नीतिले ग्राहकहरू ऋणमा डुबेको बताउनुभयो । 

ऋण लिँदा बिमा शुल्क, सेवा शुल्क, बचत शीर्षक गरेर चार भागको एक भाग पैसा लघुवित्तले कटाउँछ । त्यसमा पनि किस्ता तिर्न सकिएन भने ब्याजसमेत जोडेर साँवा बनाउँछ । जसले गर्दा ग्राहक ऋणमा थिचिएको उहाँको भनाइ छ । अध्यक्ष लामाले आफू पनि लघुवित्त पीडित रहेको बताउँदै लघुवित्तकै कर्मचारीले ऋणको दुरुपयोग गर्न प्रोत्साहन गरेको बताउनुभयो । 

नेपाल राष्ट्र बैङ्कले लघुवित्तका लागि जारी गरेको एकीकृत निर्देशन २०७८ मा बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एक ऋणीले एकभन्दा बढी लघुवित्तबाट कर्जा लिए–नलिएको यकिन गरी एकल ग्राहक कर्जा सीमा ननाघ्ने गरी मात्र कर्जा प्रदान गर्न भनिएको छ तर, त्यसअघि धितोसहित १५ लाख रुपियाँ र धितोबिना सात लाख रुपियाँसम्म ऋण प्रवाह गर्ने व्यवस्थाले एकै व्यक्तिलाई एकभन्दा बढी लघुवित्तले ऋण दिएको मिथिला लघुवित्त संस्था लिमिटेडका कार्यकारी अधिकृत सत्यदेवले बताउनुभयो । अहिले ऋण दिँदा ऋणीलाई अन्य लघुवित्तबाट ऋण लिएको छ कि छैन भनेर स्वघोषणा गराई विवरण राख्नुपर्ने व्यवस्था पनि गरेको छ । ऋण दिनुअघि कर्जा सूचना केन्द्रबाट ऋणीको सूचना लिनुपर्ने व्यवस्था अनिवार्य गरिएकाले पहिला जस्तो एकै जनालाई धैरे लघुवित्तले ऋण दिने व्यवस्था रोकिएको उहाँले जानकारी दिनुभयो ।