• ४ जेठ २०८१, शुक्रबार

बारालाई मेयर कप टी–२० क्रिकेट उपाधि

blog

मेयर कप विजेतालाई पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ । तस्बिर : गोरखापत्र

धर्बेन्द्र झा  

धनुषा, चैत २४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा भएको दोस्रो जनकपुरधाम मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि बाराले जितेको छ । श्रीराम जानकी बहुुद्देश्य रङ्गशालाको मैदानमा शनिबार भएको खेलमा बाराले धनुषालाई आठ रनले हउँदै उपाधि जितेको हो । 

उपाधिसँगै बाराले दुइ लाख ५१ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता धनुषाले एक लाख ५१ हजार रुपियाँ पायो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बाराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन बनाएको थियो । बाराका लागि निकेश गुप्ताले नटआउट सार्वधिक ४२ रन बनाउनुभयो । 

रोशन साह नटआउट २१ र निखिल सिंहले १४ रन बनाउनुभयो । बलिङमा धनुषाको लागि रुपेश यादव, विशाल शुसलिङ्ग र अखिलेश ठाकुरले दुई दुई विकेट लिनुभयो । जितका लागि १०४ रनको लक्ष्य पाएको धनुषा १९.४ ओभरमा सबै विकेटको क्षतिमा ९५ रनमा समेटियो । धनुषाका लागि विशाल शुसलिङ्गले ३३ रन बनाउनुभयो । अलि अकबर अन्सारीले १५ र अखिलेश ठाकुरले १० रन जोड्नुभयो ।

बलिङमा बाराका पवन शरार्फले चार विकेट लिनुभयो । भलवन सहनी र निखिल सिंह दुई दुई तथा सेराज हवारीले एक विकेट लिनुभयो । म्यान अफ दि म्याच बाराका पवन सरार्फ हुनुभयो । उत्कृष्ट बलर बाराका निखिल सिंह, उत्कृष्ट व्याट्सम्यान महोतरीका अभिशेख तिवारी र म्यान अफ दि सिरिज बाराका अरनिको यादव हुनुभयो । विजेतालाई संघीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, सांसद् मनिष झा लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

खेल क्षेत्रको आवश्यक पूर्वाधार निमार्ण गर्न सरकार प्रतिबद्ध  : खेलकुद मन्त्री 

युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले खेल क्षेत्रमा मधेश प्रदेशमा राम्रो सम्भावनाहरु भएको भन्दै खेलक्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निमार्ण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार भएको मेयर कपको समापन्न कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले जनकपुरधामको रजौल स्थित प्रस्तावित श्री राम जानकी बहुउद्देश्य रङ्गशाला निमार्णका लागि यस वर्षको रातो कितावमा रङ्गशाला निमार्णका लागि वजेट व्यवस्थापन हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले मधेश प्रदेशको समृद्धि र विकासका लागि खेल क्षेत्रलाई पनि विकासका आधार मानेर कामकाज गर्नु पर्ने भन्दै यस मेयर कपले १० वर्ष पछि नेपालका लागि उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने धारणा राख्नुभयो । 

उहाँले विगतको २५ वर्षमा खेल क्षेत्रमा विभिन्न खालका व्यथितीहरु देखा परेको भन्दै ती वेथितीहरु अन्तय गर्नका लागि हामी सबैको सहयोग आवश्यक भएको बताउनु भयो । उहाँले  खेलाडीहरुले पाउने पुरस्कारका रकमको फाइल कर्मचारीले टेवुलमै थनकाएर राखेका कारण पाउन नसकेको जानकारी दिदै जनकपुरधाम आउनु भन्दाअगाडी ति फाइलहरु अगाडी बढाइ सकेको र अर्को सता खेलाडीहरुले पुरस्कारको रकम पाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । 

उहाँले अन्तर्राष्ट्रिय रङ्गशाला निमार्ण भएपछि अन्तर्राष्ट्रिय खेलहरु यहाँ गराउनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्षले प्रतिबद्धता समेत गरेको कारण त्यसका लागि आवश्यक अन्य पूर्वाधारहरु पनि निमार्ण हुनु पर्नेमा जोड दिनुभयो । 

निजी क्षेत्रले स्वामित्व नलिइकन खेल क्षेत्र  व्यवसायिक रुप लिन नसक्ने भएकोले विभिन्न खेल क्षेत्रमा लागेका खेलाडीहरुलाई निजी क्षेत्रले प्रायोजित गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले देशमा विभिन्न खालका नीति निमार्ण गरिदा सरोकारवालाको संलग्नता नहुने गरेको कारण विभिन्न खालका समस्याहरु हुने गरेको भन्दै नीति निमार्णमा सम्बन्धि सरोकारबालालाइ सहभागि गराउनु आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता साहले रङ्गशाला निमार्णका लागि प्रदेश सरकारले दुइ करोड रुपियाँ बजेट छुट्याइसकेको जानकारी गराउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले प्रदेशमा उत्कृष्ट खेलाडी उत्पादनका लागि यस प्रकारको प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।