• १२ साउन २०८१, शनिबार

चार महिनादेखि यारी भन्सार कार्यालय बन्द

blog

बन्द रहेको हिल्साको भन्सार कार्यालय।फाइल तस्बिर

राजन रावत  

हुम्ला, चैत २४ गते। नेपाल र चीनको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको चार महिना भयो।पुस महिनाका हिल्साबाट फिर्ता भएका कार्यालय प्रमुखसहित कार्यालय सहयोगी हिल्सा पुनः नफर्किएपछि कार्यालय बन्द भएको हो। 

सीमा सुरक्षा चौकीका सशस्त्र प्रहरी निरीक्षक प्रमोद विष्टले गत पुस महिनादेखि यारी नाका भन्सार कार्यालय बन्द रहेको जानकारी दिनुभयो।कार्यालयमा चार महिनादेखि ताला लागेको छ।

कार्यालय प्रमुख रामराज जैसी गत मङ्सिर अन्तिम साता कार्यालय छोडेर जिल्लातर्फ फर्केपछि कार्यालय बन्द रहेको उहाँले बताउनुभयो।कार्यालय प्रमुखसहित कार्यालय सहयोगी पनि फिर्ता भएका थिए।

उहाँले कार्यालय प्रमुख जैसीलाई चाँडो आउनका लागि जानकारी गरेपनि अझै दुई हप्ता समय लाग्ने बताएको बताउनुभयो। नारा लेकसम्म यातायातका साधन सञ्चालन हुने र त्यसबाट व्यापारी दैनिक पाँच सात जना पैदल हिँडेर हिल्सा आउन थालेको र उहाँहरू चीनको ताक्लाकोटबाट सामान ल्याउने तयारीमा रहेको कारण कार्यालय बन्द हुँदा समस्या भएको बताउनुभयो ।

यस सम्बन्धमा कार्यालय प्रमुख जैसीले पहिले हिमपातले सडक बन्द रहेको र हाल कार्यालयको केही काम सक्ने बित्तिकै हिल्सा फर्कने बताउनुभयो।हिमपात नभएको कारण त्यतिबेला चीनबाट आएको सामानको राजस्व सशस्त्र प्रहरी उठाउने कार्य गर्दै आएको थियो।हाल जिल्लामा सशस्त्र प्रहरी, नेपाल प्रहरी, सात जना हिल्साका होटेल कुरुवा र केही व्यापारी बस्दै आएका छन्।