• ५ माघ २०८१, शनिबार

नगरपालिकाले बुझायो सिँचाई मिटरको महसुल

blog

लहान नगरप्रमुख महेश प्रसाद चौधरीले कृषि सिँचाई मिटरको महसुल विद्युत वितरण प्राधिकरण लहानका लेखापाललाई चेक हस्तान्तरण गर्नुहुँदै । तस्बिरः जीवछ

जीवछ यादव
लहान, चैत २४ गते । 
लहान नगरपालिकाले किसानहरूले सिँचाइका लागि प्रयोग गरिएको विद्युत मिटरको शुल्क लहान नगरपालिकाले विद्युत वितरण प्राधिकरण केन्द्र लहानलाई १४ लाख आठ हजारको चेक हस्तान्तरण गरेको छ ।

लहान नगरपालिकाका एक हजार २३४ कृषकहरूले निःशुल्क रूपमा सिँचाई गर्न मोटर चलाउन सक्ने भएका छन् । विद्युत प्राधिकरणका लेखा अधिकृत जितेन्द्र झालाई लहान नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गरी लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले चेक हस्तान्तरण गर्नुभएको हो ।

लहान नगरपालिको समृद्धि विकासका लागि कृषि क्षेत्रलाई अघि बढाउनु र ग्रामीण र सहरी क्षेत्रको सन्तुलित विकास गर्नका लागि चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न २०७९÷०८० को बाँकी रहेको विद्युत महसुलको रकम बुझाएको नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो‘, ‘‘बाँकी रहेका कृषकहरूले निःशुल्कताका लागि फारम भर्ने कार्य भइरहेकोले वर्षको बिसलाखभन्दा बढी रकम विनियोजन गर्नुपर्ने देखिएको छ । यस वर्ष बिस लाख रकम विनियोजन गरिएको छ । आउने वर्षमा कृषिलाई आधुनिकीकरण गर्न आवश्यक उपकरण र बजारीकरणका लागि नगरपालिकाले गृहकार्य गरिरहेको छ ।’’

लहान नगरपालिकाको धान गहुँ उखु र तरकारी खेतीको लागि छुट्याएको पकेट क्षेत्रका कृषकहरूलाई आवश्यक तालिम, गुणस्तरीय बीउ र बजारीकरणका लागि कृषि शाखाले काम गरिरहेको कृषि संयोजक वडा नम्बर–१२ का वडाध्यक्ष बद्री नारायण चौधरीले सञ्चारकर्मीहरूले सोधिएको प्रश्नको जवाफमा जानकारी गराउनुभयो । उहाँले थप्नुभयो, ‘‘गतवर्ष नै लहानको आँपको ब्रान्डिङग गर्ने कार्यलाई यसवर्ष अझै व्यवस्थित गर्ने कार्य सुरु भइसकेको छ । आँपमा लाग्ने रोग र किराको प्रकोपबाट जोगाउन नगरपालिकाले कृषकहरूलाई औषधी उपलब्ध गराएको छ ।’’

सिरहाका १७ वटा पालिकाहरूमध्ये बरियारपटि गाउँपालिका, धनगडीमाई, गोलबजार नगरपालिका र लहान नगरपालिकाले कृषकहरूले प्रयोग गरिएको सिँचाई मिटरको महसुल बुझाएर राहत दिएको छ । कृषि मिटरकाको महसुल बुझाउने पालिकाहरू कृषकमैत्री पालिका भएको नेपाल राष्ट्रिय कृषक महासङ्घ सिरहाका अध्यक्ष प्रदीप सिंह दुनुवारले भन्दै बाँकी रहेका पालिकाहरूमा पनि सिँचाई मिटरको महसुल बुझाउन पहल भइरहेको बताउनुभयो ।