• ५ माघ २०८१, शनिबार

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

blog

साना उद्योग । फाइल तस्बिर

वीरगञ्ज (पर्सा), चैत २४ गते । पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।  

दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ७० प्रतिशत व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा छ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये दुई सय ९९ व्यवसायका सञ्चालक महिला छन् ।

महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छ भने उद्योगतर्फ कृषि, माछा तथा पशुपालन छन् । नयाँ दर्ता भएका उद्योगमा एक हजार सात सय नौ जना पुरुष र एक हजार दुई सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ । आठ महिनामा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजीवृद्धि गरिएको छ ।

सो अवधिमा सात सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, छ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ । नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा ५४ लाख १९ हजार ७५ दाखिला भएको छ । रासस