• ७ वैशाख २०८१, शुक्रबार

कटहर मिठाे नेपाली, बजारमा बिक्छ भारतीय

blog

काठमाडाैं, वैशाख ७ गते ।  काठमाडौँ उपत्यकाका ठूला तरकारी बजारमध्येकाे एक बल्खु तरकारी बजारले काठमाडाैं महानगरकाे दक्षिण भेग, ललितपुर महानगरकाे पश्चिम, उत्तर र मध्य भाग, कीर्तिपुर र चाेभार भेगका स्थानीय जनता लाभान्वित भएका छन् । चाेभार र कीर्तिपुर, ललितपुरका ग्रामिण इलाका, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाका कृषककाे उत्पादन पनि साे बजारमा पुग्ने गरेका छन् ।


 बढ्दाे जनसंख्याका कारण साे क्षेत्रका उत्पादन मात्र हाेइन आसपासका जिल्लाका तरकारी उत्पादनले पनि पुग्ने अवस्था छैन । त्यसैले बाहिरबाट नै आयात गर्नुपर्ने अवस्था विद्यमान छ । मौसमी तथा बेमौसमी दुवै तरकारी तथा फलफूल बाहिरबाट आउने गरेको पाइन्छ ।


छिमेकी मुलुक भारतबाट आयात गरिएका कटहरले नेपाली भान्छामा एक महिनादेखि छाइसकेको छ ।बल्खु तरकारी बजारमा विगत ६ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायी राजकुमार केशरीले भारतीय कटहर एक महिना पहिलेदेखि बजारमा आइसकेको बताउनुभयो ।


 भारतीय कटहर भन्दा नेपाली कटहरको स्वाद मिठो हुने भएकाले नेपाली कटहरको बढी खोजी हुने गरेको उहाँको भनाइ छ । तर अहिले नेपाली कटहर बजारमा नआइसकेका कारण भारतीय कटहरले ठाउँ लिएको बताउनुभयो ।


नेपाली तरकारी बजारमा छिमेकी मुलुकबाट आयातित तरकारी तथा फलफूलले ठूलो हिस्सा ओगटेको छ । अहिले नेपाली बजारमा रुख कटहर तयार भइसकेको छैन । तर बजारमा भने कटहरको तरकारी छ्याप्छ्याप्ती भेट्न सकिन्छ ।


 बजारमा बोक्रा ताछेको कटहर सय रुपैयाँ किलोग्राम र बोक्रा नताछेको कटहर ८० रुपैयाँ किलोग्राममा बिक्री भइरहेको व्यवसायी केशरी बताउनुहुन्छ । उहाँको पसलमा दैनिक ८० देखि २०० किलोग्राम सम्म  बिक्री हुने गरेको छ । 


बल्खु तरकारी बजारकै अर्का व्यवसायी विरेन्द्र पण्डितले होलसेल भन्दा खुद्रा किन्ने ग्राहकहरू बढी आउने गरेको बताउनुभयो । अहिले भारतबाट धेरै कटहर आइरहेकाले मूल्यमा पनि कमी आएको उहाँले बताउनुभयो ।







Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।