• १८ वैशाख २०८१, मङ्गलबार

मानव अधिकार रक्षकको सवालमा प्रदेश सरकार गम्भीर

blog

गृहमन्त्रीसहितका अतिथिहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  
धनुषा, चैत २३ गते ।
गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मानव अधिकार रक्षकहरुको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । उहाँले अधिकार प्राप्तिको सवालमा मानव अधिकार रक्षकले उठाउँदै आएका विषयवस्तुहरु सकारात्मक भएको भन्दै प्रदेश सरकारले गर्न सकिने सहयोगका लागि प्रतिबद्ध भएको बताउनुभयो ।

पूरक एसिया, मुक्ति नेपाल र महिला राष्ट्रिय सञ्जालले बिहीबारदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाममा गरेको दुई दिने कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानव अधिकार रक्षकहरुले उठाएका पहिचान, रोजगारीको ग्यारेन्टी र सूचना प्राप्तीसहितका विषयमा प्रदेश सरकारले छलफल गरी अघि बढने धारणा राख्नुभयो ।

मधेश प्रदेश समतल भूभाग भए पनि मानव सूचाङ्कको दृष्टिकोणले शिक्षा, स्वास्थ्यसहित विभिन्न क्षेत्रमा पछाडि रहेको भन्दै त्यसलाई सुधारका लागि हामी सबैको साथ सहयोग आवश्यक भएको बताउनुभयो ।


कार्यक्रममा मधेश प्रदेशका मुख्यन्याधिवक्ता बिरेन्द कुमार ठाकुरले जबसम्म शासकको मनस्थितिमा केन्द्रिकृत शासन व्यवस्था रहने छ तबसम्म विभिन्न खालका समस्याहरु आउने  जानकारी दिनुभयो ।

उहाँले मानव अधिकार रक्षकहरु पनि दल गतरुपमा प्रस्तुत हुँदा असुरक्षित हुनुपरेको भन्दै दलीय आस्थालाई त्यागेर अगाडि आउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य सुरेन्द्र लाभले मानव अधिकार रक्षकहरु गरिब निमुखा जनताको रक्षक भएको भन्दै तिनीहरुको पहिचान कायम गरी राज्यले पेशागत सुरक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

मुक्ति नेपालका देवकुमारी महराको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांस मानव अधिकार रक्षकहरुले मानव अधिकार रक्षकहरुलाई परिचयपत्रको व्यवस्था गरिनुको साथसाथै पेशागत ग्यारेन्टी र राज्यका निकायहरुले सूचनाको पार्दशी गर्नु पर्नेमा जोड दिनुभएको थियो । दुई दिनसम्ममा मानव अधिकार रक्षकहरुको विभिन्न पक्षको विषयमा छलफल गरी आज (शुक्रबार) कार्यक्रम सम्पन्न भएको छ  ।