• १८ वैशाख २०८१, मङ्गलबार
blog

धीरेन्द्रप्रसाद साह 

जनकपुर, चैत २३ गते । राष्ट्रिय गौरवको योजनामध्येको पूर्वपश्चिम राजमार्गको स्तरोन्नति काम भइरहेको छ । मधेश प्रदेशको सिराहा जिल्लाको कमला नदी पूर्वदेखि सप्तरीको कञ्चनपुर पश्चिमसम्म कुल ८६ किलोमिटर स्तरोन्नतिको काममध्ये अहिलेसम्म एकतर्फी ३३ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

राजमार्ग स्तरोन्नति काममा ढिलाइ भइरहेको जनगुनासो आएपछि सप्तरी खण्डमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा सुरक्षा निकाय प्रमुखसहितको टोलीले बिहीबार अनुगमन गरेर समस्याबारे जानकारी लिएको छ । स्थानीय तहले खुटी खोलाबाट गिटी, बालुवा उत्खनन गर्न रोक लगाएका कारण काममा आंशिक प्रभाव परेको आयोजना प्रमुखले अनुगमन टोलीलाई अवगत गराएका थिए । उत्खनन र अन्य जस्तोसुकै समस्याको गाँठो फुकाउन स्थानीय प्रशासनबाट सम्पूर्ण सहयोग गरिने प्रजिअ थापाले विश्वास दिलाउनुभएको छ । 

चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे २ इन्जिनियरिङ गु्रपले कुल १५ अर्ब ५६ करोडमा सडक स्तरोन्नति कामको ठेक्का पाएको हो । सो ग्रुपले सन् २०२० अक्टोबरबाट काम सुरु गरी सन् २०२३ अक्टोबरसम्म सम्पन्न गर्ने गरी ठेक्का साकार गरेको थियो । तीन वर्षभित्र काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । अब सन् २०२४ डिसेम्बरसम्ममा काम सक्ने गरी म्याद पाएको छ । कामको सुरुमा कोरोनाको मार र सडकमा विद्युत् पोल र अतिक्रमण हटाउन ढिलाइ भएका कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाइएको छ ।  

इन्जिनियरिङ गु्रपले कमला–कञ्चनपुरसम्मको निर्माण कार्यलाई दुई वटा प्याकेजमा ठेक्का पाएको हो । एडिबीको ७२ र नेपाल सरकारको २८ प्रतिशत संयुक्त लगानीमा सप्तरीको कुशहादेखि कञ्चनपुरसम्म पूर्वी सडकखण्ड पहिलो प्याकेज र सिराहाको बलान (कुशहा) पश्चिमदेखि कमला नदी पूर्वसम्म पश्चिमी सडकखण्ड दोस्रो प्याकेजमा सडक विस्तार निर्माण काम पाएको हो । इन्जिनियरिङ गु्रपले दुवै प्याकेजको ८६ किलोमिटरसम्म कालोपत्रे सडक, मुख्य पुल, ओभर पास ब्रिज, अन्डर पास ब्रिज, कल्भर्ट, नालासहित निर्माण कार्य सम्पन्न गर्नुपथ्र्यो तर अहिलेसम्ममा दुवै खण्डको गरी ३३ किलोमिटर सडकमा मात्र एकतर्फी कालोपत्रेको काम सकिएकोे छ । कालोपत्रेका लागि सडकको बेस बनाउने, कल्भर्ट निर्माण, पुल, नाला निर्माण अझै सकिएको छैन । निर्माण कार्यलाई तीव्रता दिइएको छ । 

पछिल्लो करिब डेढ महिनायता खोलाबाट गिट्टी, बालुवा झिक्न रोक लगाएको, बिजुली पोल नहटाएको, खानेपानीको काम नगरेका कारण काम प्रभावित भएको कञ्चनपुर–कमला सडक योजना पश्चिमी खण्ड सडक विभागका इन्जिनियर सरोज कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिजुली पोल सार्न हामीले विद्युत् प्राधिकरण वितरण केन्द्र लहानलाई असारमा र मिर्चैया वितरण केन्द्रलाई असोजमै पैसा दिए पनि अझै काम सुरु गरेको छैन । नदीबाट बालुवा, गिट्टी झिक्न आइई (प्रारम्भिक वातावरण परीक्षण) प्रव्रिmया पूरा गरेर मन्त्रालयबाट स्वीकृतिको अन्तिम चरणमा रहेकाले अब कुनै समस्या नभई तीव्र रूपमा काम अगाडि बढ्ने छ ।”  

योजना अन्तर्गत सहरी (बजार) क्षेत्रमा ५० मिटर (छ लेन) र त्यसबाहेकका क्षेत्रमा २४ मिटर (चार लेन) सडक कालोपत्रे गरिने छ । तीमध्ये लहान, पडरिया, मिर्चैया, धनगढी, कुशहालगायत सडकखण्डमा एकतर्फी २० किलोमिटर सडक कालोपत्रे भइसकेको इन्जिनियर कोइरालाले जानकारी दिनुभयो । पश्चिमी खण्डको कुल ४७ किलोमिटर सडक निर्माण कामको ठेक्का आठ अर्ब ३८ करोडमा लागेको छ भने यस अन्तर्गत २५ वटा मुख्य पुल, ११५ वटा कल्भर्ट, ४४ किलोमिटर नाला, लहान र मिर्चैयामा एक÷एक वटा ओभर पास ब्रिज, लहानमा चार र गोलबजारमा दुई वटा गरी छ वटा अन्डर पास निर्माणको कार्य रहेको छ । मुख्य पुलमध्ये धेरैको ढलान भइसकेको र रङरोगन, रेलिङ हाल्न बाँकी रहेको उहाँले बताउनुभयो तर अहिलेसम्म कुनै पनि पुलको पूरा काम भइनसक्दा सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । यस खण्डमा वित्तीयतर्फ ३४ प्रतिशत र भौतिकतर्फ ४७ प्रतिशत प्रगति रहेको उहाँको कथन छ ।

कञ्चनपुर–कमला सडक योजना, पूर्वी खण्ड प्रमुख खड्गलाल श्रेष्ठले पूर्वी खण्ड कञ्चनपुर–कुशाहसम्मको ३९ किलोमिटरको लागि कुल सात अर्ब २७ करोडमा ठेक्का लागेको बताउनुभयो । यस खण्डमा २९ वटा मुख्य पुल, ११४ वटा कल्भर्ट र छ किलोमिटर नाला निर्माण गर्नुपर्ने छ । आठ/नौ वटा पुलको ढलान भइसकेको छ भने कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । यस खण्डमा छ लेनको छ किलोमिटर, चार लेनको ३३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेकोमा हालसम्म १३ किलोमिटर एकतर्फी कालोपत्रे भइसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । यस खण्डमा वित्तीयतर्फ ३३ प्रतिशत र भौतिकतर्फ ४५ प्रतिशत प्रगति रहेको उहाँको कथन छ । 

नेपाललाई कुल व्यवस्थापनको जिम्मेवारी रहेको यस योजनाको कन्सल्ट्यान्टमा कुशहवा इन्जिनियरिङ एन्ड कन्सल्टिङ कर्पोरेसन लिमिटेड कोरिया र बिसिएल एसोसिएट्स लिमिटेड बङ्गलादेश रहेको छ ।