• २१ वैशाख २०८१, शुक्रबार

घाँसको बीउ उत्पादनमा घट्दै कृषकको आकर्षण

blog

खजुरा गाउँपालिका –५ उढरापुरका किसान धनीराम यादवले गर्नुभएको घाँसको बीउको खेती । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत २२ गते । बाँकेमा घाँसको बीउ उत्पादन गर्ने किसानहरूले बिस्तारै यो पेसा छोड्दै गएको देखिएको छ । वर्षौंदेखि व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गर्दैआएका किसानहरूको पछिल्लो समय यो पेसाप्रति आकर्षण घट्दैगएको पाइएको हो ।

वर्षौंदेखि घाँसको बीउ उत्पादन गर्दै आउनुभएका खजुरा गाउँपालिका –५ उढरापुरका किसान धनीराम यादवले पछिल्लो समयमा गाउँका किसानले यो पेसा छोड्दै गएको बताउनुभयो । उहाँले किसानलाई कहिँकतैबाट पनि आवश्यक सहयोग नमिलेपछि किसानले घाँसको बीउ खेती गर्ने काम छाड्दैगएको बताउनुभयो ।

२०७० सालमा गाउँका १८ जना किसान मिलेर हरियाली कृषक समूहमार्फत व्यावसायिक रूपमा विभिन्न घाँसको बीउ उत्पादन गरी बिक्री वितरण गर्दै आए पनि हाल समूहमा जम्मा दुई जनाले मात्र बीउ उत्पादन गर्दैआएको उहाँको भनाइ छ । 

“व्यावसायिक रूपमा घाँसको बीउ उत्पादन गरी बिक्री वितरण गर्न सुरुमा २०७० सालमा १८ जना किसान मिलेर समूहमार्फत ६०–७० बिघा जग्गामा बीउ उत्पादन गर्न खेती सुरु गरेका थियौँ, केही वर्षसम्म सामूहिक रूपमा खेती गरेका थियौँ” उहाँले भन्नुभयो, “अहिले बिस्तारै सबैले छोड्दै जानुभयो, जम्मा दुई जनाले बीउ उत्पादन गर्दैआएका छौँ ।”

बीउ उत्पादन गर्ने किसानलाई आवश्यक पर्ने विद्युत, सिँचाइका लागि मोटर, औषधी, बीउ, मल, थ्रेसरलगायतका उपकरण कतैबाट कसैले सहयोग नगरेका कारण किसानले यो पेसा छाड्दै गएको उहाँको बुझाइ छ ।

हाल चार बिघा जग्गामा बर्सिम, जै तथा मकैचरी जातको घाँसको बीउ उत्पादन गर्दै आउनुभएका किसान यादवले यो पेसामा समस्या रहेको बताउनुभयो । “घरको नजिक विद्युत पोल छैन, टाढै रहेको पोलबाट आफ्नै खर्चमा काठका खम्बाहरू गाडेर बत्तीको व्यवस्था गरेको छु, चार बिघा जग्गामा सिँचाइका लागि जम्मा दुई इन्चको मोटर प्रयोग गरेको छु ।” 


गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई पनि आफ्ना समस्या राखेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबाट यो वर्ष दुई लाख रुपियाँ सहयोग भए पनि  अत्यन्तै न्यून रहेको उहाँको भनाइ छ । पानी सिँचाइ गर्न ठुलो मोटर समरसेल तथा खेती काट्नका लागि थ्रेसर मेसिनलगायतको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

१८ जना मिलेर सुरु गरेको समूहमा गत वर्षसम्म ७ जनाले खेती गर्दै आए पनि यो वर्ष जम्मा दुई जनाले मात्र खेती गरेको उहाँले बताउनुभयो । “खेतीबाट आम्दानी त राम्रै छ, उत्पादन भएको बीउ पनि बिक्री गर्न समस्या परेको छैन, तर बत्ती, सिँचाइलगायत आवश्यक सामग्री र समयमै मल नपाउँदा भने धेरै गाह्रो हुन्छ” उहाँले भन्नुभयो ।

“स्थानीय सरकारले हामीजस्ता किसानलाई समय समयमा आवश्यक तालिम, उपकरण तथा आवश्यक सामग्रीको व्यवस्था गरिदिनुपर्छ, किन यो पेसाप्रति किसानहरूको आकर्षण घट्दै गएको छ ? किन सबैले यो पेसा छोडिरहेका छन् त्यो समस्याको पहिचान गरी समाधान गर्नुपर्छ”, उहाँले थप्नुभयो, “किसानलाई प्रोत्साहन गरी पुनः यो पेसामा ल्याउन स्थानीय सरकारले पहल गर्नुपर्छ ।”