• ५ माघ २०८१, शनिबार

सप्तरीको कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्डको अनुगमन

blog

सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको जिल्ला स्तरीय टोलीद्वारा निर्माणाधीन सडक योजनाको अनुगमन गर्दै । तस्बिर : देवरामप्रसाद यादव

देवराम प्रसाद यादव

सप्तरी, चैत २२ गते । सप्तरीस्थित पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर–कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसाहासम्म निर्माणाधीन सडक योजनाको बिहीबार एक टोलीले अनुगमन गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वको जिल्ला स्तरीय टोलीद्वारा निर्माणाधीन सडक योजनाको अनुगमन गरेका हुन् । 

टोलीले निर्माणाधीन सडक योजनाको स्थलगत निरीक्षण गरी जानकारी लिनुभएका छन् । सडक निर्माण कार्यको गुणस्तरीयता, योजना कार्यान्वयनमा देखिएको समस्या, कामको हालसम्म भएको प्रगति, सडक निर्माणका क्रममा हुनसक्ने डुबानको समस्या र निकास, नदिजन्य पदार्थहरूको उपयोगिता र गुणस्तरीयताको विषयमा जानकारी लिएको अनुगमन टोलीमा सहभागी एक सदस्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

अनुगमन टोलीले निर्माणाधीन सडक योजनाको कामको अवस्था र गुणस्तरीयता, खोलाहरूमा निर्माण हुँदै गरेको पुलको कार्य र चाइना रेल्वे पूर्वी क्याम्पमा गरिने निर्माण सामाग्रीहरूको ल्याब टेष्टबारे समेत जानकारी लिई आवश्यक सुझाव दिएका थिए । अनुगमन पश्चात् पाइएको कमीकमजोरी तथा सुधारका लागि गर्नुपर्ने कामबारे निर्माण कम्पनीका प्रतिनिधि तथा योजनासँग सम्बन्धित प्राविधिकहरूलाई निर्देशन दिइएको प्रजिअ थापाले बताउनुभयो । 

सडक निर्माण कार्यमा देखिएको ढिलासुस्ती तथा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरू मार्फत सडकको गुणस्तरीयताबारे उठाएको सवालको यथार्थताको विषयको साथै गृह मन्त्रीको निर्देशन बमोजिम सडक योजनाको अनुगमन गरिएको उहाँले जानकारी दिनुभयो । 

सडक निर्माणको क्रममा सर्वसाधारणमा धुलो तथा अन्य कुनै समस्या भएको बारे र प्रदूषण नियन्त्रणका लागि निर्माण कम्पनीबाट भइरहेको प्रयासका सम्बन्धमा जानकारी लिँदै प्रजिअ नेतृत्वको टोलीले धुलोको समस्या नआउने गरी पानीको व्यवस्था मिलाउन निर्देशन समेत दिएका थिए । 

प्रजिअ थापा नेतृत्वको अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिध्दि बज्राचार्य, राष्ट्रिय अनुसन्धान सप्तरीका प्रमुख अनुसन्धान उप–निर्देशक सुरेन्द्र प्रसाद कोइराला, सडक डिभिजन कार्यालय लहानका प्रमुख खड्ग लाल श्रेष्ठ, ठेकेदार कम्पनीका प्रतिनिधि लिङ्ग के लगायत योजना अन्तर्गतका प्राविधिक टोली, पत्रकारहरू सहभागी थिए ।

कञ्चनपुर-कमला सडक योजनाको ठेक्का चाइना रेल्वे  नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले लिएका छन् भने परामर्शदाता कुनुवाहा इन्जिनियरिङ कनसल्टेसिङ्ग प्रालि. (साउथ कोरिया) इन ज्वाइन्ट इन्टरमेन्ट विसिएल एसोसिएसन (बंगलादेश) र एसोसिएसन विट प्रालि नेपाल रहेको छ । सडक निर्माणको कार्यको थालनी २०२० अक्टोबर २९ देखि  सुरु भई २०२३ अक्टोबर २८सम्म सक्नुपर्ने भएपनि समयमा काम सम्पन्न नभएपछि पुनः १४ महिना म्याद थप गरी २०२४ डिसेम्बर २८ सम्म पु¥याइएको सडक डिभिजन कार्यालय लहानका योजना शाखाका इन्जिनियर राजीव झाले जानकारी दिनुभयो  । 

कञ्चनपुर-कमला सडक योजना पूर्वी खण्ड अन्तर्गत कञ्चनपुरदेखि कुसाहासम्मको ३९.४२ किमीको निर्माण कार्य ४४. ५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनु भयो । कुल बजेट ७ अर्ब २७ करोड ७६ हजार २ सय ३४ रुपियाँ रहेको उहाँले बताउनुभयो ।