• १२ साउन २०८१, शनिबार

पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिको साढे तीन वर्ष : एकतर्फी ३३ किलोमिटर कालोपत्रे

blog

लोकराजमार्गको स्त्तरोन्नतीअन्गर्तत कालेपत्रै गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
जनकपुर, चैत २२ गते । 
राष्ट्रिय गौरवको योजनामध्येको पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम भइरहेको छ । मधेश प्रदेशको सिराहा जिल्लाको कमला नदी पूर्वदेखि सप्तरीको कञ्चनपुर पश्चिमसम्म कूल ८६ किलोमिटर स्तरोन्नतिको काम भइरहेको छ । अहिलेसम्म एकतर्फी ३३ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

राजमार्ग स्तरोन्नति काममा ढिलाइ भइरहेको जनगुनासो आएपछि सप्तरी खण्डमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा सुरक्षा निकाय प्रमुखसहितको सभागामी बिहीबार निरीक्षण र अनुगमन गरेर समस्याबारे जानकारी लिनु भएको छ । स्थानीय तहले खुटी खोलाबाट गिट्टी, बालुवा उत्खनन गर्न रोक लगाएको कारण काममा आंशिक प्रभाव परेको अनुगमन टोलीलाई आयोजना प्रमुखले अवगत गराएको थियो । उत्खनन र अन्य जस्तोसुकै समस्याको गाँठो फुकाउन स्थानीय प्रशासनबाट सम्पूर्ण सहयोग गरिने प्रजिअ थापाले विश्वास दिलाउनुभएको छ ।

चाइनिज ठेकेदार कम्पनी चाइना रेलवे २ इन्जिनियरिङ ग्रुपले कूल १५ अर्ब ५६ करोडमा सडक स्तरोन्नति कामको ठेक्का पाएका हुन । सन् २०२० अक्टोबरबाट काम सुरुगरी सन २०२३ अक्टोबरसम्म सम्पन्न गर्ने गरी ठेक्का साकार गरेको थियो । तीन वर्षभित्र काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । अब सन २०२४ डिसेम्बर सम्ममा काम सक्ने गरी म्याद पाएको छ । कामको सुरुमा कोरोनाको मार र सडकमा विद्युत पोल र अतिक्रमण हटाउन ढिलाइ भएको कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाएको छ । 

इन्जिनियरिङ ग्रुपले कमला–कञ्चनपुरसम्मको निर्माण कार्यलाई दुई वटा प्याकेजमा ठेक्का पाएका हुन । एडिबीको ७२ र नेपाल सरकारको २८ प्रतिशत संयुक्त लगानीमा सप्तरीको कुशहादेखि कञ्चनपुरसम्म पूर्वी सडकखण्ड पहिलो प्याकेज र सिराहाको बलान (कुशहा) पश्चिमदेखि कमला नदी पूर्वसम्म पश्चिमी सडकखण्ड दोस्रो प्याकेजमा सडक विस्तार निर्माण काम पाएको हो । इन्जिनियरिङ ग्रुपले दुवै प्याकेजको ८६ किलो मिटरसम्म कालोपत्रे सडक, मुख्य पुल, ओभर पास ब्रिज, अन्डर पास ब्रिज, कल्भर्ट, नालासहित निर्माण कार्य सम्पन्न गर्नु पर्थ्यो । तर अहिलेसम्ममा दुवै खण्डका गरी ३३ किलोमिटर सडकमा मात्र एकतर्फी कालोपत्रेको काम सकिएको छ । कालोपत्रेका लागि सडकको बेस बनाउने, कल्भर्ट निर्माण, पुल, नाला निर्माणको अझै सकिएको छैन । निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

पछिल्लो करिब डेढ महिना यता खोलाबाट गिट्टी, बालुवा झिक्न रोक लगाएको, बिजुली पोल नहटाएको, खानेपानीको काम नगरेको कारण काम प्रभावित भएको कञ्चनपुर–कमला सडक योजना पश्चिमी खण्ड सडक विभागका इन्जिनियर सरोज कोइरालाले जानकारी दिनुहुँदै उहाँले भन्नुभयो, ‘‘बिजुली पोल सार्न हामीले विद्युत प्राधिकरण वितरण केन्द्र लाहानलाई असारमा र मिर्चैया वितरण केन्द्रलाई असोजमै पैसा दिएपनि अझै काम सुरु गरेको छैन ।’’

नदीबाट बालुवा, गिट्टी झिक्न आईई (प्रारम्भिक वातावरण परीक्षण) प्रक्रिया पूरा गरेर मन्त्रालयबाट स्वीकृतिको अन्तिम चरणमा रहेकोले अब कुनै समस्या नभई तीव्र रूपमा काम अगाडि बढ्ने उहाँले बताउनुभयो ।


योजनाअन्तर्गत सहरी (बजार) क्षेत्रमा ५० मिटर (छ लेन) र त्यसबाहेकका क्षेत्रमा २४ मिटर (चार लेन) सडक कालोपत्रे गरिने छ । तीमध्ये लहान, पडरिया, मिर्चैया, धनगढी, कसहालगायत सडक खण्डमा एकतर्फी २० किलोमिटर सडक कालोपत्रे भइसकेको इन्जिनियर कोइरालाले जानकारी दिनुभयो । पश्चिमी खण्डको कूल ४७ किलोमिटर सडक निर्माण कामको ठेक्का आठ अर्ब ३८ करोडमा लागेको छ भने यसअन्तर्गत २५ वटा मुख्य पूल, ११५ वटा कलभर्ट, ४४ किलोमिटर नाला, लहान र मिर्चैयामा एक/एक वटा ओभर पास ब्रिज, लहानमा चार र गोलबजारमा दुईवटा गरी छ वटा अन्डर पास  निर्माणको कार्य रहेको छ । मुख्य पुलमध्ये धेरैको ढलान भइसकेको र रंगरोगन, रेलिङ्ग हाल्न बाँकी रहेको उहाँले अहिलेसम्म कुनै पनि पुलको पूरा काम भइनसक्दा सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो । यस खण्डमा वित्तीयतर्फ ३४ प्रतिशत र भौतिकतर्फ ४७ प्रतिशत प्रगति रहेको उहाँको भनाइ छ ।

कञ्चनपुर–कमला सडक योजना, पूर्वी खण्ड प्रमुख खड्गलाल श्रेष्ठले पूर्वी खण्ड कञ्चनपुर–कुशाहसम्मको ३९ किलोमिटरको लागि कूल सात अर्ब २७ करोडमा ठेक्का लागेको बताउनुभयो । यस खण्डमा २९ वटा मुख्य पुल, ११४ वटा कल्भर्ट र छ किलो मिटर नाला निर्माण रहेको छ । आठ÷नौ वटा पुलको ढलान भइसकेको छ भने कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । यस खण्डमा छ लेनको छ किलोमिटर, चार लेनको ३३ किलोमिटर सडक कालोपत्रे गर्ने योजना रहेकोमा हालसम्म १३ किलोमिटर एकतर्फी कालोपत्रे भइसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । यस खण्डमा बित्तियतर्फ ३३ प्रतिशत र भौतिकतर्फ ४५ प्रतिशत प्रगति रहेको उहाँको कथन छ ।

नेपाललाई कुल व्यवस्थापनको जिम्मेवारी रहेको यस योजनाको कन्सलट्यान्टमा कुनहवा इन्जिनियरिङ्ग एण्ड कन्सल्टिङ्ग कार्पोरेशन लिमिटेड कोरिया र बीसीएल एसोसिएटस लिमिटेड बंगलबादेश रहेको छ ।