• ५ माघ २०८१, शनिबार

बालमैत्री विद्यालय भवन निमार्ण भएपछि पढाइ सहज

blog

विद्यालय भवनको उद्घाटन गर्दै नगर प्रमुख बेचन दास सहितका अतिथि। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, चैत २१ गते। धनुषाको विदेह नगरपालिका वडा नम्बर ९ इटहर्वास्थित शिव शङ्कर जनता माध्यमिक विद्यालयमा बालमैत्री तथा समावेशी विद्यालय भवन निमार्ण भएपछि पढाइ सहजता हुने भएको छ। 

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा आसमान नेपालले सञ्चालन गरेको शिक्षा परियोजना अन्तर्गत सो विद्यालयमा चार कोठे भवन बनेको हो। पुरुष महिला र अपाङ्ग मैत्री शौचालय र हात धुन र पानी पिउनको लागि धाराको निमार्णसहित बनेको भवन  उद्घाटन गरिएको हो। 

जापान सरकारको ९३ लाख तीन हजार ८५७ रुपियाँ लागतमा निमार्ण गरिएको उक्त भवनको बुधबार विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, प्लान इन्टरनेशनल नेपालका पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका क्षेत्रीय प्रबन्धक रबी शङ्कर पण्डित र इटहर्वा महादेव स्थानका महन्थ शिव नारायण पुरीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो।


कार्यक्रममा बोल्दै विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले विद्यालय भवन निमार्ण भएपछि बालबालिकालाई पढाउनका निमित्त सहजता हुने भएकोले आ-आफ्नो बालबालिकालाई विद्यालयमा पठाउनका लागि सबैमा आग्रह गर्नुभयो। उहाँले विदेह नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सबै भन्दा बढी ११ करोड बजेट छुट्याएको जानकारी गराउनुभयो। 

कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल पूर्व क्षेत्रीय कार्यालय जनकपुरधामका क्षेत्रीय प्रबन्धक रवि शङ्कर पण्डितले कुनै पनि बालबालिका विद्यालय बाहिर नहोस् भन्ने मान्यताका साथ समुदायको आवश्यकता बमोजिम यस विद्यालयलाई छनौट गरिएको जानकारी दिनुभयो। 

कार्यक्रममा विदेह नगरपालिकाका नगर उपप्रमुख आशा देवी झा आसमान नेपालका कार्यक्रम व्यवस्थापक दिलीपकुमार यादव, शिक्षा परियोजनाका कार्यक्रम प्रमुख अशोक कमतीसहितको उपस्थिति रहेको थियो।