• २० वैशाख २०८१, बिहिबार

वृद्धाको हत्यामा संलग्न युवक पक्राउ

blog

हत्या आरोपित प्रमोद चौधरीलाई सार्वजनिक गरिँदै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत २२ गते । सर्लाहीको बागमती नगरपालिका–४, जिरायतस्थित जङ्गल टोल बस्ने एक वृद्धाको हत्यामा संलग्न युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । 

स्थानीय बौधु महतोकी श्रीमती ७० वर्षीय पार्वतीकुमारी महतो भन्ने पार्वतीदेवीको मङ्गलबार साँझ आफ्नै घरमा हत्या भएको थियो । 

प्रहरीले पार्वतीको हत्यामा संलग्न रहेका रौतहटको वृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ वर्षीय प्रमोद झा भन्ने प्रमोद चौधरीलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

प्रमोदले जिरायत क्षेत्रमा ज्याला मजदुरीको काम गर्थे । प्रारम्भिक अनुसन्धानमा प्रमोद चोरी गर्न गएका बेला वृद्धा प्रमीलादेवीले प्रतिकार गर्दा उहाँको हत्या भएको हुनसक्ने आशङ्का गरिए पनि वास्तविक कारण खुल्न बाँकी नै रहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 

प्रमोदले प्रमिलादेवीको अनुहारमा काठको मुढो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक गिरीका अनुसार घटनाको अनुसन्धानका क्रममा प्रमिलादेवीको घरमा राखिएको सात बोरा चामलमध्ये छ बोरा चामलमात्रै फेला परेको छ । 

सिसिटिभी फुटेजका आधारमा महतोको घरबाट चोरी भएको चामल प्रमोद चौधरीले बोकेर हिँडेको देखिएको प्रहरीले जनाएको छ । चौधरी चोरी भएको चामल बोकेर बागमती नगरपालिका–४, घिमिरे चोकमा रहेको किराना पसलमा बिक्रीका लागि पुगेको समेत सिसिटिभी फुटेजबाट देखिएको प्रहरी निरीक्षक गिरीले बताउनुभयो । 

चौधरीलाई प्रहरीले नहरको बाटो भएर रौतहटतर्फ भाग्दै गर्दा बुधबार बिहान बागमती नगरपालिका–१ बाट पक्राउ गरेको हो । प्रहरीले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप सोधपुछ तथा अनुसन्धान गरिरहेको बताएको छ । 

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले घटना लगत्तै जिल्ला तथा इलाका प्रहरी कार्यालय हरिवनबाट परिचालित टोलीले अपराधमा संलग्न व्यक्तिलाई तत्कालै पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको बताउनुभयो ।