• २३ वैशाख २०८१, आइतबार

चिट चोराउने प्रिन्सिपल कारबाहीमा

blog

चिट चोराउने कार्यमा संलग्न रहेका व्यक्तिहरू । तस्बिर ः बाँके प्रहरी

खजुरा, चैत २२ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउने कार्यमा संलग्न रही पक्राउ परेका व्यक्तिहरूलाई बाँके प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गत चैत २० गतेका दिन सञ्चालन गरिएको विज्ञान तथा प्रविधि विषयको परीक्षामा नेपालगन्जका एक विद्यालयका प्रिन्सिपलसहित अन्य पाँच जनालाई चिट चोराउने कार्यमा संलग्न रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका १२ स्थित मनोजकुमार ओलीले सञ्चालन गरेको ओ एन्ड बि ए वन क्लासेस इन्टिच्यूटका म्यानेजिङ डाइरेक्टर ईरफान अलि मेकरानी, सोही इन्टिच्यूटमा रहेका दिलीप बिक र सन्तोष नेपाली, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा सञ्चालित लोटस इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तपनकुमार शर्मा र सोही स्कुलका पार्ट टाइम शिक्षक अल्ताब खाँलाई विभिन्न किसिमबाट विद्यार्थीलाई चिट चोराउने कार्यमा संलग्न रहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ परेका पाँचै जनालाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

सूचना अधिकारी डाँगीका अनुसार उनीहरूलाई शिक्षा ऐन २०२८ को दफा १७ बमोजिम छ महिनासम्म कैद सजाय वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने बताउनुभयो ।

प्रहरीले इन्स्टिच्युटका म्यानेजिङ डाइरेक्टर ईरफान अलि मेकरानीले ह्वाट्स एप ग्रुपमार्फत मोबाइलबाट विज्ञान तथा प्रविधि विषयको प्रश्नको उत्तर लेखि पठाउने गरेको र सो इन्स्टिच्युटमा रहेका दिलीप बिक र सन्तोष नेपालीले सोलुसन बुक र प्राक्टिस बुक राखी प्रश्न पत्रको प्रिन्ट गरी कापीको पानामा उत्तर लेख्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

त्यसै गरी लोटस इङ्लिस बोर्डिङ स्कुलका शिक्षक अल्ताब खाँले प्रश्न पत्रको उत्तर लेखि विद्यार्थीहरूलाई मोबाइलमार्फत ह्वाट्स एप ग्रुपमा पठाउने गरेको र प्रिन्सिपल तपनकुमार शर्माले शिक्षक खाँलाई प्रश्न पत्रको उत्तर लेखी विद्यार्थीलाई पठाउनका लागि काम लगाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सो कन्सल्टेन्सीबाट उक्त कार्य गर्न प्रयोग गरिएका मोबाइलहरू, ल्यापटप, केही थान गाइड तथा सोलुसन बुक, प्रश्न पत्र, उत्तर लेखिएका कापी, कागजपत्रलगायत बरामद गरी अनुसन्धान अगाडी बढाएको थियो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।