• १२ मंसिर २०८१, बुधबार

प्याजको बेर्नाबाट आम्दानी

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत २२ गते । प्याजको बेर्ना आम्दानीको स्रोत भएको छ । पछिल्लो समय प्याज खेती गर्ने किसान जिल्लामै बढेपछि किसानले बिक्री गर्ने उद्देश्यले प्याजका बेर्ना उमारेर बिक्री गर्न थालेपछि यो व्यवसाय आम्दानीको स्रोत भएको हो । 

जिआरपी कृषि तथा पशु अर्गानिक फार्मका सञ्चालक गगन रोकायाले दुई वर्षयता प्याजका बेर्ना बिक्रीबाट कमाई राम्रो हुने थालेको बताउनुभयो । उहाँले यतिबेला ग्रिन हाउसमा प्याजका बेर्ना उमारेर बिक्री गरिरहनुभएको छ । 

यस पटक डेढ केजी बिउ छरेर प्याजका बेर्ना उमार्नुभएको छ । उहाँले प्रतिबोट एक रुपियाँमा बेर्ना बिक्री भइरहेको बताउनुभयो । यस पटक रोकायाले डेढ लाख कमाइ हुने बताउनुभयो । जब कि गत वर्ष रोकायाले साठी हजार प्याजका बेर्ना बिक्रीबाट कमाइ गर्नुभएको थियो । गत वर्षबाट हौसिएका रोकायाले यस वर्ष दोब्बरभन्दा बढी कमाइ गर्नुभएको छ । 

उहाँले जिल्लामै प्याज खेती गर्ने किसान बढिरहेका कारण बेर्ना बिक्री आम्दानीको माध्यम बनेको बताउनुभयो । अब रोकायाले दोस्रो लटको बेर्ना उमार्नका लागि बिउ छरी सक्नुभएको छ । यसरी प्याजको बेर्नाबाट रोकाया मात्र नभएर सिमकोट गाउँपालिका–५ की बास्कला रावतले पनि कमाइ गर्न थाल्नुभएको छ । रावतले यस वर्ष ९० हजारभन्दा बढी कमाइ हुने बताउनुभयो । दैनिक प्याजका बेर्ना किन्ने किसानको सङ्ख्या बढिरहेको छ । जिल्लामै किसानले प्याज उत्पादन गर्न थालेपछि हवाई मार्गबाट नेपालगन्ज र सुर्खेतबाट आयात हुने प्याजको परिणाम घटेको छ ।