• ४ जेठ २०८१, शुक्रबार

बल्खुमा साझाको पेट्रोल पम्प चौबिसै घण्टा सञ्चालन

blog

काठमाडौँ, चैत २२ गते । साझा सेवा सहकारीद्वारा सञ्चालित  बल्खुस्थित पेट्रोल पम्प चौबिसै घण्टा सञ्चालन हुने भएको छ । बुधबार आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औपचारिक रूपमा सो पेट्रोलियम पदार्थको वितरण सुरुवात गर्नुभएको हो । 

सो अवसरमा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण गर्दै साझालाई राज्यले प्राथमिकता नदिँदा पछाडि परेको बताउनुभयो । नेपाल आयल निगमको धुमलिएको छविलाई सुधार गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।

निगमको सेवा प्रवाहलाई अझै भरपर्दो बनाउनुपर्नेमा जोड दिँदै सेवा प्रवाह, शुद्धता, चुहावटलगायत सबै कुरामा सुधारको खाँचो रहेको उहाँले बताउनुभयो । नेपाल आयल निगमलाई समयसापेक्ष प्रविधिमैत्री बनाउनुपर्नेसमेत मन्त्री भण्डारीले आग्रह गर्नुभयो । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले मन्त्री भण्डारीको निर्देशनमा आयल निगमले साझा सहकारीलाई गरेको आग्रहबमोजिम पेट्रोलियम पदार्थ वितरण चौबिसै घण्टा गर्न सुरुवात गरिएका जानकारी दिनुभयो । 

उहाँका अनुसार मन्त्रीको निर्देशनबमोजिम क्रमशः साझा तथा अन्य पेट्रोल पम्पबाट पनि सेवालाई चौबिसै घण्टा गरिने छ । साझाले ललितपुरको पुल्चोकबाट पनि पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दै आएको छ ।