• २० वैशाख २०८१, बिहिबार

बजेट नआएपछि विद्यालय भवन निर्माण रोकियो

blog

प्रभा माविको निर्माणधिन विद्यालय भवन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी, चैत २१ गते । थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ । संघीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले एक वर्षअघि १८ कोठा भएको विद्यालय भवन निर्माण थालेको थियो । 

बजेट प्राप्त नभएपछि अहिले भवन निर्माण रोकिएको छ । निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने बाँकी करिब एक करोड ८४ लाख रुपियाँ संघीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा भवन निर्माण रोकिने अवस्थामा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहँका अनुसार राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले गत वर्षदेखि विद्यालय भवन बनाउन सुरु गरेको थियो । 

उहाँले भन्नुभयो, "भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम माथिबाट आएको छैन । बजेट माग गर्न जनप्रतिनिधिसहित राष्ट्रिय योजना आयोगमा चारपटकसम्म पुग्यौं, तर सुनुवाई भएन । बजेट आए यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न हुने थियो ।" रकम अभावमा भवन निर्माण समययमै नहुँदा विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएको विद्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा बजेट प्राप्त नहुने भएपछि योजनाको म्याद थपेर अर्को आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने सोच गाउँपालिकाले बनाएको सुवेदीले बताउनुभयो । 

"यो आर्थिक वर्षमा रकम नआउने नै भयो, योजनाको म्याद थपेर अर्को आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्दछौं," उहाँले भन्नुभयो । निर्माण व्यवसायीले सरासर काम गरेकाले म्याद थपका लागि पनि समस्या भएको उहाँको भनाइ छ । म्याद थपका लागि निर्माण व्यवसायीले नै निवेदन दिनुपर्दछ तर व्यवसायी निवेदन दिने पक्षमा नभएको उहाँको भनाइ छ। 

तीन करोड ८४ लाख १८ हजार नौ सय सात रुपियाँ कुल लागतमा उक्त भवन निर्माण गर्न २०८० वैशाख २४ गते जयलक्ष्मी÷अभिनव जेभी बागलुङसँग २०८१ जेठ ३० गते भित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो । 

भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सब–इन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । उहाँका अनुसार भवन निर्माणको काम सकिएको छ । झ्याल ढोका राख्ने, रङ्गरोगन गर्ने लगायतका फिनिसिङको काम मात्र बाँकी रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, "निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्याल ढोका र स्टिल फर्निचरलगायतका सामग्रीहरु तयारी अवस्थामा राखेको छ । तर निर्माण व्यवसायीलाई भुक्तानी गर्ने रकम  नहुँदा बाँकी काम अगाडि बढाउन समस्या उत्पन्न भएको छ ।"