• ८ मंसिर २०८१, शनिबार

मृत्युदण्डले मर्दैन अपराध

blog

विश्वका विभिन्न मुलुकमा जघन्य अपराध गरेका अपराधीलाई मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्ड दिने तरिका फरक फरक छन् । कतै झुन्डाएर, कतै टाउको काटेर, कतै गोली हानेर, कतै घातक सुई दिएर र त कतै विषालु ग्यास सुँघाएर मृत्युदण्ड दिने गरिन्छ । मृत्युदण्डले अपराधी त मर्छ तर अपराध मर्दैन । त्यसैले मृत्युदण्ड दिने मुलुकमा अपराधमा कमी आएको छैन ।

विश्वमा पहिलो पटक अमेरिकामा नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । सन् १९८८ मा एलिजावेथ सेनेट नामकी महिलाको हत्या गरेको आरोपमा दोषी केनेथ युजिन स्मिथलाई मृत्युदण्ड दिइयो । उनले एक हजार अमेरिकी डलर पाउने आशामा सेनेटको हत्या गरेका थिए । ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । स्मिथका वकिलले त्यसलाई ‘क्रुर र अस्वाभाविक’ सजाय भन्दै रोक्न गरेको निवेदन न्यायाधीशहरूले दुई पटक अस्वीकार गरेका थिए ।

होल्मन कारागारमा मृत्युदण्ड दिनुअघि स्मिथले भनेका थिए, “आज राति अलाबामाले मानवतालाई एक कदम पछाडि सारिदिने छ । मलाई समर्थन गर्नुभएकोमा धन्यवाद । तपाईंहरू सबैलाई माया ।”

मृत्युदण्ड दिइँदा मास्कभित्र नाइट्रोजन ग्यास छिर्न थालेपछि स्मिथ हाँसेको र आफ्ना परिवारजनप्रति माया देखाउन अलिकति निहुरिएका थिए । स्मिथ दुईदेखि चार मिनेट छटपटाएको र उनले पाँच मिनेट छिटोछिटो सास फेर्दै प्राण त्यागेका थिए । मिसावटरहित नाइट्रोजन सुँघ्दा शरीरका कोष क्षतिग्रस्त हुन्छन् र मानिसको मृत्यु हुन्छ ।

सन् १९९६ देखि मृत्युदण्ड कुरिरहेका ५८ वर्षीय स्मिथले यो पर्खाइ यातनापूर्ण भएको बताएका थिए । सो हत्यामा सामेल स्मिथका सहयोगी जोन फरेस्ट पार्करलाई सन् २०१० मै मृत्युदण्ड दिइएको थियो ।

यसैगरी जापानमा एक पुरुषलाई ३६ जनाको ज्यान जाने गरी आगजनी गरेको कसुरमा झुन्ड्याएर मृत्युदण्ड दिइएको छ । कैयौँ देशले मृत्युदण्ड हटाएको भए पनि त्यस्तो सजाय दिइएका घटना भने विश्वभरि बढिरहेका छन् ।

मृत्युदण्ड दिने देश

हाल विश्वका ५५ देशमा जघन्य अपराधीलाई मृत्युदण्ड दिइने गरिएको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

तीमध्ये नौ देशले धेरैको हत्या वा युद्ध अपराधजस्ता एकदमै जघन्य अपराधमा मात्र मृत्युदण्ड दिन्छन् । तीमध्ये २३ देशले विगत १० वर्षदेखि मृत्युदण्डको सजाय कार्यान्वयन गरेका छैनन् ।

एम्नेस्टीले आधिकारिक तथ्य, सञ्चार माध्यममा आएका विवरण तथा पीडितका परिवार वा प्रतिनिधिहरूले दिएको सूचनामा आधारित भएर मृत्युदण्डको विवरण सङ्कलन गर्छ ।

धेरै अपराधीलाई मृत्युदण्ड दिने देश चीनलाई मानिएको छ तर चीनले मृत्युदण्ड दिँदाको प्रयोगबारे सूचना दिँदैन । चीनबाहेक अन्यत्र गत वर्ष विश्वमा आठ सय ८३ जनालाई मृत्युदण्ड दिइएको थियो ।

एम्नेस्टीका अनुसार सन् २०२२ मा ५२ देशमा दुई हजार १६ जनालाई मृत्युदण्डको सजाय तोकियो । सन् २०२१ मा ५६ देशले दुई हजार ५२ मृत्युदण्ड सुनाए । कैयौँ बन्दी वर्षौं वा दशकौँसम्म मृत्युदण्डको पालो कुरेर बस्छन् ।

सन् २०२१ मा १८ देशले र सन् २०२२ मा २० देशले मृत्युदण्ड सजाय कार्यान्वयन गरेका थिए । चीनबाहेक धेरै मृत्युदण्ड दिने देशमा इरान, साउदी अरब, इजिप्ट र अमेरिका पर्छन् । उत्तर कोरियाले पनि निरन्तर मृत्युदण्ड दिँदै आएको भनिए पनि स्वतन्त्र रूपले पुष्टि हुँदैन ।

साउदी अरबमा सन् २०२२ मा ३० वर्षयताकै सर्वाधिक ५७ जनालाई मृत्युदण्ड दिइयो । कैयौँ वर्षदेखि मृत्युदण्ड कार्यान्वयन नगरेका बहराइन, कोमोरोस, लाओस, नाइजर र दक्षिण कोरियाले सन् २०२२ मा मृत्युदण्ड दिएका थिए ।

सन् २०२२ मा विश्वमा लागूऔषध अपराधमा दोषी तीन सय २५ जनालाई मृत्युदण्ड दिइयो । सन् २०२३ मा सिङ्गापुरले २० वर्षयता पहिलो पटक महिलालाई मृत्युदण्ड दिएको थियो ।

मृत्युदण्ड हटाएका देश

अहिले विश्वका एक सय १२ देशमा मृत्युदण्ड प्रयोग गरिँदैन । सन् १९९१ मा त्यस्ता देशको सङ्ख्या जम्मा ४८ थियो । सन् २०२२ मा छ वटा देशले मृत्युदण्डलाई आंशिक वा पूर्ण रूपमा हटाए । कजाखस्तान, पपुआ न्युगिनी, सिएरा लिओन र सेन्ट्रल अफ्रिकन रिपब्लिकले मृत्युदण्ड पूरै हटाएका छन् । एक्वटोरिअल गिनी र जाम्बियाले यो सजाय एकदमै गम्भीर अपराधमा मात्र प्रयोग गर्छन् ।सन् २०२३ मा मलेसियाको संसद्ले हत्या र आतङ्कवादसहित ११ किसिमका जघन्य अपराधमा अनिवार्य मृत्युदण्डको प्रावधान हटाएको छ । त्यस्तै घानाको संसद्ले मृत्युदण्ड पूरै हटाउने पक्षमा मतदान गरेको छ ।

मृत्युदण्ड दिने तरिका

अहिले टाउको काटेर मृत्युदण्ड दिने देश साउदी अरब मात्र हो । अन्य विधिमा फाँसी वा घातक सुई दिइन्छ वा गोली प्रहार गरिन्छ ।

साउदी अरबले सन् २०२२ मा ८१ जनालाई मृत्युदण्ड दिएको थियो । परिवारलाई पूर्वजानकारी नदिई साउदी अरबमा बन्दीलाई मृत्युदण्ड दिने गरिएको छ । सन् २०१५ यता साउदी अरबमा मृत्युदण्ड दर दोब्बर भएको छ ।

केही वर्षअघिसम्म साउदी अरबमा धेरैजसो सार्वजनिक स्थानमा टाउको काटेर मृत्युदण्ड दिइने गरिन्थ्यो । यसरी मृत्युदण्ड पाएकाहरूको नाम र उनीहरूमाथिको अभियोग सरकारको वेबसाइटमा सार्वजनिक गर्ने गरिन्थ्यो तर अहिले मृत्युदण्ड गुपचुप हुन थालेको मानव अधिकारकर्मी बताउँछन् । कुनै पनि किसिमका स्वतन्त्र नागरिक समाज र मानव अधिकार समूहले त्यहाँ काम गर्न पाउँदैनन् । मृत्युदण्डबारे ध्यानाकर्षण नगराए मानिसहरू गुपचुप मारिन्छन् ।

इरानी युवतीको अन्तिम सन्देश

मृत्युदण्ड दिइएकी इरानकी २६ वर्षीया युवती रेहाना जब्बारीले मृत्युपश्चात् सबै अङ्ग दान गर्ने इच्छा व्यक्त गर्दै आफ्नी आमालाई निकै मर्मस्पर्शी सन्देश पठाएकी थिइन् ।

अन्तर्राष्ट्रियस्तरमा अनेकन प्रयास भए पनि रेहानालाई त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सुनाएपछि गत अक्टोबरमा फाँसी दिइयो । ‘इन्टेरियर डिजाइन’ सम्बन्धी सल्लाह लिन भन्दै भेट गरेपछि जबरजस्ती करणीको प्रयास गर्ने पूर्व गुप्तचर अधिकारी अब्दोआली सरबन्दीलाई प्रतिकारका क्रममा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनलाई इरानको सर्वोच्च अदालतले मृत्युदण्ड दियो । सात वर्षदेखि जेलमा सजाय भोगिरहेकी रेहानालाई गत अक्टोबर २५ मा फाँसी दिइयो ।

उनले गत अप्रिलमा यो सन्देश पठाएको भए पनि उनका समर्थकले मृत्युको भोलिपल्ट मात्रै यो सन्देश सार्वजनिक गरे । उनकी आमाले न्यायाधीशसँग पूर्वगुप्तचर अधिकारी सरबन्दीको हत्या आरोपमा छोरीको सट्टा आफूलाई फाँसी दिन माग गरेकी थिइन् ।

मृत्युदण्डजस्तो सबभन्दा ठूलो दण्ड दिँदा पनि विश्वमा अपराध घटेको पाइन्न । मृत्युदण्ड नदिने मुलुकमा भन्दा मृत्युदण्ड दिने मुलुकमा अपराध झन् बढेको पाइएको छ । मृत्युदण्डले अपराधी मरे पनि अपराध मर्दैन ।   

Author

रामप्रसाद आचार्य