• १२ साउन २०८१, शनिबार

हिल्सा सिमकोटको याल्वाङ खण्डमा साढे नौ घण्टा सडक बन्द

blog

हिल्सा सिमकोट सडकखण्डको याल्वाङमा सडक स्तरोन्नती कार्य गरिँदै । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, चैत २१ गते ।
जिल्लाको हिल्सा सिमकोट सडकको याल्वाङ खण्डमा दैनिक नौ घण्टा सडक बन्द हुने भएको छ ।  सडकको स्तरोन्नती कार्य जारी रहेका कारण सडक बन्द गरिएको हो ।

इलिङदेखि याल्वाङ गौडासम्म सडकको निर्माण कार्य भइरहेको छ । सडक निर्माणको जिम्मा लिएको कुशेश्वर एचकेएम जनजागृती जेभीका स्थानीय प्रतिनिधि सरोज रावतले सडकको स्तरोन्नतीका लागि दैनिक नौ घण्टा सडक बन्द गर्ने गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ५ः३० बजेसम्म सडक बन्द गर्ने गरिएको छ । सो बाहेकको  समयमा भने सडकलाई सुचारु रहने छ ।

स्थानीय प्रतिनिधि रावलले सडक बन्द गर्न पनि नहुँने र काम पनि अगाडि बढाउनै पर्ने भएका कारण दैनिक सडक बन्द गरेर निर्माण कार्य अगाडि बढाउनु परेको बताउनुभयो । हाल याल्वाङ खण्डमा सडकको निर्माण कार्य धमाधम भइरहेको छ ।

हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य अगाडि बढाउनकै लागि सडक बन्द गर्नुको अन्य बिकल्प नदेखिएको जनाएको छ । दिनभर निर्माण कम्पनीले काम गर्ने र बेलुका सडक मर्मत गरेर यातायात सुचारु गर्नुपर्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

उक्त खण्डको नौ किलो मिटर सडक निर्माणका लागि गत वर्ष चैत महिनामा निर्माण कम्पनी पक्षले सम्झौता गरेको भए पनि गत कात्तिक महिनाबाट निर्माण कार्य सुरु भएको थियो ।