• १९ वैशाख २०८१, बुधबार

विकासको प्रमुख आधार

blog

कृषि मानवको जिउने आधार हो । अन्य क्षेत्रको जतिसुकै विकास र विस्तार भए पनि कृषिलाई बेवास्ता गरियो भने यसले विकास नभएर विनास निम्त्याउँछ । नेपालमा साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा आबद्ध छन् । प्रमुख पेसा नै कृषि भए पनि कृषि उत्पादनले हाम्रो मागलाई धान्न सकेको छैन । 

नेपालको संविधानमा कृषि तथा भूमिसुधारसम्बन्धी पाँच वटा नीति उल्लेख गरिएको छ, जसमा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने । अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने । किसानको हकहित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्ने । भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनसमेतका आधारमा नियमन र व्यवस्थापन गर्दै त्यसको समुचित उपयोग गर्ने । कृषकका लागि कृषि सामग्री, कृषि उपजको मूल्य र बजारमा पहुँचको व्यवस्था गर्ने रहेका छन् । संविधानमा उल्लिखित सुन्दर नीतिहरूको उचित कार्यान्वयन गर्नु/गराउनु तीन वटै तहका सरकारको साझा दायित्व हो । 

आजका युवालाई कृषिमा जोड दिन सक्ने बनाउनु जरुरी छ । यसका लागि हाल विद्यमान रूपमा रहेका कृषि क्षेत्रका समस्याको न्यूनीकरण गर्दै जानु पर्छ । हाम्रो कृषि बजारको अवस्था कमजोर छ । कृषकहरूलाई रासायनिक मलको समस्या छ । वास्तविक किसानको पहिचान हुन सकेको छैन । कृषि विभागको पछिल्लो विवरण अनुसार नेपालमा कृषियोग्य जमिनको ३० प्रतिशत जमिनमा मात्र सिँचाइको सुविधा छ । ७५ प्रतिशतमा आकाशे पानी र मनसुनमा भर पर्नुपर्ने अवस्था छ । आवश्यकता अनुसारको शीतभण्डारको निर्माण गर्न नसक्दा एकातिर उत्पादित वस्तु सस्तो मूल्यमा विक्री गर्नुपर्ने अवस्था छ भने अर्कातिर उत्पादित फलफूल तथा तरकारी सडेर जाने समस्या छ । कृषि उत्पादनले सहज रूपमा बजार पाउन नसक्दा कृषि पेसा छाड्नेको सङ्ख्या बढ्दो छ । 

उत्पादन र उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता हो । वर्तमान अवस्थामा कृषि उत्पादन निरन्तर घट्ने क्रममा छ । कृषियोग्य जमिन बाँझो रहने क्रम पनि बढ्दो छ । उत्पादिन वस्तुका लागि आवश्यक बजार अभावको कारण कृषकले गोलभेँडा फालेका, दुध सडकमा पोखेका समाचार बेलाबेलामा सुन्ने र देख्ने गरेका छौँ । चिनी मिलले उधारोमा लगेको उखुको मूल्य नपाउँदा उखु किसानले उखु नै बालेका घटना पनि छन् । कृषि एक यस्तो क्षेत्र हो जहाँ हजारौँले रोजगारी पाउन सक्छन् र आर्थिक विकासमा समेत ठुलो सहयोग पुग्छ । 

कृषिमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न नसक्दा वैदेशिक व्यापार सन्तुलन हुन सकेको छैन । कुल वैदेशिक व्यापारको अंश हेर्दा ९१ प्रतिशत आयात र नौ प्रतिशत निर्यात छ । यो अवस्थामा सुधार ल्याउनका लागि प्रमुख विकल्प भनेको नै उत्पादनमुखी कृषिमा जोड दिनु नै हो । आव २०७९/८० सम्म कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.६ प्रतिशत रहेको छ । सोह्रौँ योजनाको प्रारम्भिक मस्यौदा अनुसार निरपेक्ष गरिबी १५.१ प्रतिशत रहेको छ । आधारभूत आवश्यकता परिपूर्ति गर्न नसक्ने गरिबीलाई घटाउनका लागि पनि कृषि उत्पादनमा जोड दिनु जरुरी छ । 

हाम्रो कृषि प्रणालीमा विविध समस्या छन् । न्यून उत्पादन तथा उत्पादकत्व, कृषि तथा उद्योग क्षेत्रमा बढ्दो उत्पादन लागत र कमजोर प्रतिस्पर्धी क्षमता रहेको छ । कृषिमा आधारित उद्योग स्थापना गर्न सकिएको छैन । उद्योग स्थापनामा निजी क्षेत्रको लगानी आकर्षण गर्न सकिएको छैन । हाम्रा उर्वर भूमि बाँझो छन् । । उत्पादनलाई राम्रो बजार सुनिश्चित हुन सकेको छैन । स्थानीय उत्पादनभन्दा आयातीत वस्तुमा उपभोग संस्कृति बढेको छ । उत्पादक र बजार पहुँचको मध्यस्थताकर्ताको कारणले वास्तविक उत्पादकले लाभ प्राप्त गर्न सकेका छैनन् । वन, पर्यटन तथा ऊर्जालाई आम्दानीको ठुलो स्रोत मानिन्छ तर उत्पादकत्व वृद्धि गर्ने किसिमले उद्योग तथा निर्यात व्यापारसँग जोड्न सकिएको छैन । देशगत र वस्तुगत व्यापार विविधीकरण गर्न सकिएको छैन । 

कृषिको व्यावसायीकरण हुन नसक्नुमा विविध समस्या छन् । उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेल्ने खेतीयोग्य जमिन बाँझो छन् । कृषिभूमिको खण्डीकरण तथा गैरकृषिमा प्रयोग बढ्दै गएको छ । कृषिलाई जलवायु परिवर्तन अनुकूलन बनाउनु, प्राकृतिक प्रकोप तथा वन्यजन्तुको बढ्दो अतिक्रमणबाट कृषि उत्पादनलाई जोगाउनुलगायत चुनौती छन् । कृषिका लागि उन्नत बिउ, मल, प्रविधि, सिँचाइ, विद्युत्, कृषि प्राविधिकको सहज उपलब्धतालगायत सवाल छन् । उत्पादित कृषि उपजको संरक्षणार्थ आवश्यक पर्ने चिस्यान केन्द्र, सङ्कलन केन्द्र, गोदाम घरको सीमितता देखिन्छ । 

अर्थतन्त्र सुदृढीकरण गर्नका लागि प्राथमिक क्षेत्रको सबलीकरण गर्नु आवश्यक छ । यसका लागि वास्तविक कृषकलाई कृषि कर्जामा सुविधा र सहुलियतको माध्यमबाट उत्प्रेरित गर्नु पर्छ । कृषि बिमाको सहजीकरण गर्दै उत्पादनलाई बजारको सुनिश्चितता दिनु पर्छ । युवा र वैदेशिक रोजगारीबाट फर्केका जनशक्तिको मनोबल वृद्धि गर्ने वातावरण निर्माण गरी सामूहिक र सहकारी खेतीको प्रवर्धन गर्नु पर्छ । उर्वर भूमिको खण्डीकरणलाई नियन्त्रण गर्दै जग्गा एकीकरण गर्ने पद्धति विकास हुनु पर्छ । 

कृषिको जग बलियो बनाउँदै उत्पादकत्व वृद्धि गर्नका लागि सम्बन्धित निकाय सबैले अध्ययन, अनुसन्धान, नवप्रवर्तन र कृषि प्रयोगशालाको पर्याप्ततामा ध्यान दिनु पर्छ । उत्पादित कृषि वस्तुको बजार समर्थन मूल्य तोकी युवालाई कृषि पेसामा आकर्षण हुने वातावरणको निर्माण गर्नु पर्छ । कृषिका लागि अनुदान वितरणमा रहेका विविध समस्या क्रमश हटाउँदै र घटाउँदै लैजानु पर्छ । कृषिमा लाग्ने उत्पादन लागत निरन्तर वृद्धि भइरहेको हुँदा कृषकलाई कुन जमिनमा कुन बाली लगाउँदा ठिक हुन्छ जस्ता कृषि सचेतनामूलक कार्यक्रम निःशुल्क रूपमा सञ्चालन गर्नु पर्छ । 

अब हामीले आधुनिक कृषि प्रणालीको विकास गरी अर्थतन्त्र बलियो बनाउने ढोका खोल्न सक्नु पर्छ । हाम्रो भू–उपयोग योजना अनुरूप भूमि बैङ्कको अवधारणा कार्यान्वयनमार्फत कृषियोग्य भूमिको व्यापक सदुपयोग गर्नु पर्छ । मौजुदा खाद्य प्रणालीलाई रूपान्तरण गरी दिगो, समतामूलक र उत्थानशील बनाउनु जरुरी छ । आधारभूत खाद्य वस्तुको आत्मनिर्भरता आजको आवश्यकता हो । यसका लागि कृषकका उत्पादनमा नाफाको सुनिश्चितता प्रत्याभूत हुने गरी समर्थन मूल्य तोक्नु पर्छ । कृषिमा उत्पादकत्व बढाउनका लागि सिँचाइ प्रणालीमा सुधार गर्नु पर्छ । यसै गरी प्रकोपजन्य क्षतिको न्यूनीकरण गर्न जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई स्वचालित बनाई पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाउनु पर्छ । सबै स्थानीय तहले भू–उपयोग क्षेत्र वर्गीकरण तथा भू–उपयोग योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु पर्छ । भूमि बैङ्क र भूमि बजारको अवधारणालाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी एवं संस्थागत व्यवस्था गर्नु पर्छ । 

आमनागरिकमा कृषिप्रति आकर्षण अभिवृद्धि नगरेसम्म कृषिले गति लिन सक्दैन । त्यसैले स्थानीय तहमा सार्वजनिक निजी सहकारीको सहकार्यबाट कृषिजन्य पूर्वाधार स्थापना गरी सञ्चालन गर्नु पर्छ । उन्नत जातका मल, बिउ, मलखाद तथा नश्ल सुधारको सुनिश्चितता गर्न सक्नु पर्छ । रैथाने कृषि बालीको संरक्षण, प्रवर्धन र उपयोग गर्दै लैजान पनि चुक्नु हुँदैन । कृषिको विकासका लागि “हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने ?” भन्ने अभियानका साथ अगाडि बढ्नु पर्छ ।   

Author

गायत्री लम्साल