• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ मा विश्वासको मत लिनुहुने

blog

मुख्यमन्त्री कमलबहादुर शाह ।

अविनाश चौधरी

धनगढी, चैत २० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । उहाँले आफू नेतृत्वको सरकारप्रति सदनको विश्वास रहेको वा नरहेको पुष्टि गर्नका लागि प्रदेश सभा सदनबाट विश्वासको मत लिन लाग्नुभएको हो । 

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । “मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त पत्रको आधारमा बैठकबारे सबै प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेका छौं”, उहाँले भन्नुभयो । 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुपरिरहेको छ । माओवादीले सरकारलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो । तत्कालीन सहयात्री दलले समर्थन फिर्ता लिएको एक महिनाभित्रै मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । 

मुख्यमन्त्री शाहले सदनबाट विश्वासको मत पाए उहाँ नेतृत्वको सरकारले निरन्तरता पाउनेछ । बहुमत पुर्‍य ाउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्दछ । अहिलेको अवस्थामा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात र एक स्वतन्त्र गरी मुख्यमन्त्रीलाई २६ जना प्रदेश सभा सदस्यको साथ देखिन्छ । राप्रपाका एक सदस्यले समर्थन गरेमा मुख्यमन्त्रीले बहुमत पाउने सम्भावना छ ।