• २७ वैशाख २०८२, शनिबार

पत्रकारितामा रेडियो नेपालको योगदान सराहनीय: राष्ट्रपति पौडेल

blog

काठमाडौँ, चैत २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पत्रकारितामा रेडियो नेपालको योगदान विशिष्ट र सराहनीय रहेको बताउनुभएको छ ।

रेडियो नेपाल ७४ औँ वर्ष प्रवेशको अवसरमा एक शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले रेडियो नेपाल नेपालको पत्रकारिताको मात्र नभई प्रसारण इतिहासमै अग्रणी संस्था भएको बताउनुभएको हो । सन्देशमा उहाँले नेपालको राजनीतिक, सामाजिकलगायत अनेकौँ आरोह–अवरोहमा रेडियो नेपाल साक्षी मात्र नभएर सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गरिरहेको भन्दै रेडियो नेपालको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले “राष्ट्रिय रेडियो – राष्ट्रको सञ्चार” लाई प्रभावकारी बनाउन मुलुकका सबै क्षेत्रमा रेडियो नेपालको सहज प्रसारण पहुँच पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । सन्देशमा उहाँले रेडियो नेपालजस्ता आमसञ्चार माध्यमले मुलुकले अङ्गीकार गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न अहम् भूमिका खेल्ने उल्लेख गर्नुहुँदै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपाल अझै जिम्मेवार, विश्वसनीय र जवाफदेही हुन जरुरी रहेकोसमेत उल्लेख गर्नुभएको छ ।

सन्देशमा उहाँले रेडियो नेपालले सीमित स्रोत साधनको अधिकतम उपयोग गरेर आफ्नो सेवा, गुणस्तर र प्रस्तुतिमा समयअनुसारको सुधार र परिवर्तन गरी प्रतिस्पर्धी र अझै व्यावसायिक बनाउनेतर्फ ध्यान केन्द्रित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।