• १२ साउन २०८१, शनिबार

हावाहुरीले उडायो भूकम्पपीडितका टहरा

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत २० गते । अस्थायी आवास (टहरा) हावाहुरीले उडाएपछि रुकुमपश्चिमका भूकम्पपीडित थप विपत्तिमा परेका छन् । शनिबारको हावाहुरीले सानीभेरी गाउँपालिका–२, परियार टोलका अस्थायी आवासको छानो हुरीले उडाइदिएको थियो ।

स्थानीय उज्ज्वल ओलीका अनुसार जस्तापाता प्रयोग गरेर बनाएको टहरा हावाहुरीले उडाएको र अन्नपात र लत्ताकपडामा वर्षाले क्षति पु¥याएको बताउनुभयो । सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले भूकम्पको पीडा खेपिरहेका सर्वसाधारणलाई हावाहुरी र पानीले थप पीडा दिएको बताउनुभयो । हालसम्म सानीभेरीमा ५२ वटा अस्थायी टहरा हावाहुरीले उडाएको विवरण आएको अध्यक्ष विष्टले जानकारी  दिनुभयो । हुरीले कालिका आधारभूत विद्यालयको छत र सिकाइ केन्द्रमा समेत क्षति पुगेको बताइन्छ ।

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले अस्थायी आवास भर्खरै बनाएर बस्न थालेका पीडितलाई हावाहुरीले थप पीडा दिएको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयमा हुरीले पु¥याएको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । हावाहुरीका कारण धेरै जसोका अस्थायी टहरा भत्किएका, जस्तापाता उडाएर सानीभेरी नदीको किनारसम्म पु¥याएको छ । 

वडा नं. ४ टिमुर गाउँमा रहेको इन्द्रज्योति आधारभूत विद्यालयको तीनकोठे कच्ची भवनको छाना हावाहुरीले उडाएको बताइन्छ । यसबाट विद्यालयमा दुई लाख ५० हजार बराबरको क्षति भएको छ । त्यसै गरी अन्य विद्यालयमा बनाइएका अस्थायी सिकाइ केन्द्रसमेत प्रयोग गर्न नमिल्ने गरेर क्षति भएका छन् ।  

हावाहुरीसहितको असिनापानीका कारण चौरजहारी क्षेत्रमा अस्थायी आवासका साथै गहुँ, मसुरो र चना बालीमा क्षति पुगेको बताइएको छ । क्षतिको विवरण सङ्कलनका लागि वडामा ताकिता गरिएको नगरपालिकाले जनाएको छ । 

जाजरकोट समाचारदाताका अनुसार भूकम्पपीडितका अस्थायी टहराको छाना हुरीले उडाएपछि बिचल्लीमा परेका छन् । भूकम्पले चर्किएको घरमा बस्न नसकेपछि पीडितले अस्थायी टहरा बनाएर बस्दै आएका थिए । बारेकोट गाउँपालिका–६, ताँसीका हरिश्चन्द्र विकले हुरीले जस्ता उडाएपछि बिचल्लीमा परेको बताउनुभयो ।

बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीका अनुसार गाउँपालिकामा हावाहुरीले लाखौँको क्षति गरेको छ । तथापि क्षतिको विवरण सङ्कलन भइरहेकाले यकिन गर्न कठिन छ । हावाहुरीले ३, ६, ७ को वडा कार्यालयमा पनि क्षति पुगेको बताइन्छ । प्रहरी चौकी लिम्सामा हावाहुरीले क्षति गरेको छ । बारेकोट गाउँपालिका–९ मा हावाहुरीले रुख ढाल्दा नौ वटा गाई मरेका छन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले पालिकाका दुई वटा सामुदायिक विद्यालय र एक सयभन्दा बढी अस्थायी आवासमा क्षति पुगेको जानकारी दिनुभयो । नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले हावाहुरीले अस्थायी आवास, अस्थायी सिकाइ केन्द्र, प्रहरी चौकी, स्वास्थ्य चौकीमा असर पारेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले व्यक्तिगत तथा  सार्वजनिक भौतिक संरचना क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । जाजरकोटका प्रहरी नायब उपरीक्षक डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार हावाहुरीले जिल्लामा भूकम्पपीडितका अस्थायी टहरादेखि विद्यालय भवन, वडा कार्यालय, प्रहरी चौकीमा बढी क्षति पुगेको छ ।