• ९ मंसिर २०८१, आइतबार

चैते धान उत्पादन क्षेत्रमा वृद्धि

blog

चैते धान रोप्दै किसान । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, चैत १९ गते । धनुषामा चैते धानको उत्पादन क्षेत्र वर्षेनी वृद्धि हुँदै गएको छ । सिँचाइ व्यवस्था तथा स्थानीय तहले अनुदानमा धानको बिउ उपलब्ध गराउन थालेपछि चैते धानको उत्पादन क्षेत्र बढ्दै गएको हो । 

मिथिला नगरपालिकाका कृषि प्राविधिक उमेश महतोले जिल्लामा पछिल्लो दुई÷तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको बताउनुभयो । वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलालाई प्राथमिकता दिन थालेको उहाँको बुझाइ छ । 

जिल्लाका सबै ठाउँमा सिँचाइ व्यवस्था र किसानलाई सहुलियतमा बिउ उपलब्ध गराउन सकियो भने चैते धान खेती धेरै बढ्ने विश्वास कृषि प्राविधिक महतोको छ । पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएको उहाँले बताउनुभयो । 

चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान रोपिएको छ । फागुन महिनाको अन्तिम सातादेखि रोपाइँ सुरु गरेका यहाँका किसानले चैत महिनाको तेस्रो सातामै चैते धान रोपाइँ सम्पन्न गर्नुभएको छ ।

रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । सिँचाइको पर्याप्त सुविधा नभए पनि बाह्रै महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपिएको उहाँले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी प्रदीपकुमार यादवले जिल्लामा चैते धान खेतीको क्षेत्रफल बढेको बताउनुभयो । विगतको तुलनामा दुई सय हेक्टर जमिनमा चैते धानको खेती बिस्तार भएको उहाँले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्क अनुसार विगतमा पाँच सय हेक्टरमा हुँदै आएको चैते धान खेती बढेर सात सय हेक्टर पुगेको सूचना अधिकारी यादवको भनाइ छ ।

चैते धान खेतीका लागि जिल्लाको उत्तरी क्षेत्र मिथिला, बटेश्वर, धनुषाधाम, गणेशमान चारनाथ, क्षीरेश्वर नगरपालिका उपयुक्त स्थान रहेको बताउँदै उहाँले सिँचाइ सुविधा पुगेको दक्षिणी भेगमा पनि कतैकतै मात्र यो खेती गर्ने गरिएको जानकारी दिनुभयो । कतिपय स्थानमा चैते धान रोपाइँ जारी रहेको र रोप्ने समय अझै बाँकी रहेकाले अहिलेसम्म कति हेक्टरमा चैते धान रोपियो भने आधिकारिकरुपमा ठ्याक्कै भन्न नसकिने सूचना अधिकारी यादवले बताउनुभयो । 

यस्तै, मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले पालिकाको चुरे, बाहुनमारा र विस्मरमा गरी करिब २० हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको बताउनुभयो। उहाँले अघिल्लो वर्षहरुको तुलनामा यसपाली बढी क्षेत्रफलमा चैते धान रोपिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष १० देखि १२ हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । चैते धान खेतीमा वृद्धि ल्याउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातकोे बीउ उपलब्ध गराउँदै आएको छ ।”