• ५ माघ २०८१, शनिबार

राजश्व संकलनमा होटल र पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण

blog

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ। तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, चैत १८ गते। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले विदेशी मुद्राको आर्जन र राजश्व संकलनमा होटल व्यवसाय र पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबारदेखि सुरु भएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले नेपालमा होटल र पर्यटन व्यवसाय ठूलो व्यवसायको रुपमा रहेको भन्दै यसको सफलता असफलता संचालक र कर्मचारीको व्यवहारमा निर्भर रहेको बताउनुभयो।  उहाँले नेपालमा पर्यटन व्यवसायको सम्भावना धेरै भएको भन्दै जंगल सफारी, हिमाल क्षेत्रको अवलोकन, धार्मिक पर्यटकीय क्षेत्रको अवलोकनका लागि पर्यटकलाई तान्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो। 

हिमालसँगै धार्मिक पर्यटकसमेत नेपालमा धेरै ल्याउन सकिने उहाँको भनाइ छ। जनकपुरधाम पर्यटकीय सम्भावना भएको धार्मिक स्थान भएपनि सो अनुसारको विकास हुन नसकेको बताउनुभयो। उहाँले विगतमै आफू मन्त्री हुँदा रामायण सर्किटमा पर्ने स्थलहरुको विकासका लागि भारतसँग पनि छलफल गरेको बताउनुभयो। 

कार्यक्रममा नेकपा एमाले संसदीय दल मधेश प्रदेशका उपनेता दिपेन्द्र ठाकुरले होटल व्यवसाय रोयल व्यवसाय भएको भन्दै प्रदेशलाई चिनाउने धरोहरको तस्बिर होटलमा झुण्डयाउनु पर्ने धारणा राख्नुभयो।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापा, रामअशिष यादव, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, कार्यक्रमका संयोजक सुरेन्द्र भण्डारी सहितकाले धारणा राख्नुभएको थियो। 

महासेठले कमाल नदीमा निमार्ण भएर बाढीमा क्षतीग्रस्त बनेका कमला पुल र कमला नदीमै धनुषाको सवैला पटेरवा नजिक एक बन्न लागेको पुलको निरीक्षणसमेत गर्नुभयो। 

कमला पुलको निरीक्षण गर्दै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ।  तस्बिर धर्बेन्द्र झा