• १३ साउन २०८१, आइतबार

मन्त्री लेखीद्वारा कार्यालयमा छड्के निरीक्षण

blog

छड्के निरीक्षण गर्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी । तस्विर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, चैत १८ गते । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आइतबार जनकपुरधामस्थित मन्त्रालय मातहतका तीनवटा कार्यालयमा छड्के निरीक्षण गर्नुभएको छ । 

मधेश प्रदेश सरकारको मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डको कार्यालयमा मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवसहित पत्रकारको टोली लिएर छड्के निरीक्षण गर्न पुगेपछि सो कार्यालयमा कर्मचारी र पदाधिकारी अनुपस्थित रहेका थिए । 

कार्यालयमा मन्त्री अनुगमन गर्न आएको खबर कार्यालयमा हुनासाथ मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दाससहितका पदाधिकारी उपस्थित भए पनि आमसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्डको कार्यालयमा भने कार्यालय सहयोगी बाहेकका कर्मचारी भेटिएनन् । मिडिया काउन्सिलका कार्यवाहक अध्यक्षसहितको उपस्थित पदाधिकारीलाई काउन्सिलको कामकाज सुधारका लागि उहाँले निर्देशन दिनुभयो । 

उहाँले एक सातामा गर्ने काम तीन दिनमा र तीन दिनमा गर्ने काम २४ घण्टा भित्र गर्न निर्देशन दिनुभयो । छड्के निरीक्षणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले मन्त्री भएपछि मन्त्रालय मातहतका कार्यालयको कामकाज बारेमा बुझन छड्के गरेको र सोचेभन्दा बढी दयनीय अवस्था देखिएको बताउनुभयो । 

उहाँले यस विषयमा कार्यालयका प्रमुखसहितका कर्मचारीलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरिने बताउनुभयो । उहाँले सुरुमा सम्झाइ बुझाइ गर्ने पछि लापरबाही गर्ने जोसुकै कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यता आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कार्यालयकै कामको विषयमा आफू मुख्यमन्त्री कार्यालय गएको समयमा मन्त्रीले छड्के निरीक्षण गरेको प्रतिक्रिया दिनुभयो ।