• १२ पुस २०८१, शुक्रबार

लाहा खेती

blog

विशेष रुखका नरम हाँगामा टाँसिएर त्यही हाँगाको रस चुसेर आफ्नो जीवनचक्र पूरा गर्ने परजीवीलाई लाहा भनिन्छ ।

लाहाका प्रकार

क) भाले लाहा

लाहा भाले र पोथी गरी दुई प्रकारका हुन्छन् । भाले लाहा खुट्टा, आँखा, टाउको भएको १४/१५ मिलिमिटर लम्बाइको तथा कलेजी रङको हुुन्छ । पोथीसँग यौन सम्पर्क भएपछि यसको मुख कुच्चिन्छ । जसले गर्दा खान नसकेर दुई/तीन दिनमै मर्छ । एउटा भालेले ४० वटा पोथीसँग यौनक्रिडा गर्न सक्छ ।

ख) पोथी लाहा

यसको आकार चारदेखि पाँच मिलिमिटर तथा कलेजी रङको हुन्छ । पोथी लाहा जीवनपरन्त एक ठाउँबाट अर्को ठाउँमा हिँड्दैन । किनकि यसको आँखा, कान, खुट्टा हुँदैन । यसको पेट, मुुख र मलद्वार मात्र हुन्छ ।

लार्भा अवस्थामा लाहा भाले वा पोथी के हो छुट्टिएको हुँदैन । जब भाले वा पोथी छुट्टिन थाल्छ त्यसबेला पोथी लाहाको पेट, मुख र मलद्वारबाहेक कुनै अङ्ग बाँकी रहँदैन । यसको आयु अन्डा उत्पादनपछि सकिन्छ ।

पोथी र भालेको घर अलग अलग हुन्छ । सहवास गर्ने बेलामा भाले आफ्नो घरबाट निस्केर पोथीको शरीरमाथि पुग्छ ।

रङ्गिन लाहा

यो वर्षमा दुई पटक उत्पादन हुन्छ । पहिलो चार महिना र दोस्रो  आठ महिनामा उत्पादन हुने गर्छ । वैशाख/जेठमा लगाएको लाहा असोज कात्तिमा झिक्नु पर्छ । असोज कात्तिकमा लगाएको लाहा वैशाख/जेठमा झिक्ने गरिन्छ । गर्मी महिनामा चार महिनामा उत्पादन हुन्छ भने जाडो महिनामा लाहा उत्पादन हुन पाँच महिना लाग्छ ।

कुसुमी

यो छ/छ महिनामा उत्पादन हुन्छ । असार/साउनमा लगाइन्छ र माघ/फागुनमा झिक्नु पर्छ । माघ/फागुनमा लगाएको असार/ साउनमा झिक्नु पर्छ ।

व्यावसायिक दृष्टिले रङ्गिन लाहाभन्दा कुसुमी लाहा उत्कृष्ट मानिन्छ । रङ्गिन लाहाको उत्पादन कम हुन्छ । यसबाट उत्पादन भएको लाहा कमसल मानिन्छ । रङ्गिन लाहाको तौल पनि बढी हुने गर्छ । रङ्गिन लाहाभन्दा कुसुमी लाहाको उत्पादन मूूल्य र सामानको टिकाउपन पनि बढी हुन्छ । 

लाहा उत्पादन हुने रुख

नेपालमा रङ्गिन लाहा पलाँस, सिरिस, पिपल, बयर, रहर, लिची, मौवा आदि प्रजातिको रुखमा उत्पादन हुन्छ । कुसुमी लाहाको उत्पादन कुसुम, सेमियालता, बयर, खयर आदि प्रजातिका रुखमा हुने गर्छ । 

लाहा उत्पादन 

भाले र पोथीको यौनक्रिडापश्चात् पोथी कीराको शरीरमा परिवर्तन हुन्छ । त्यसले हाँगाको रस अत्यधिक चुस्ने गर्छ, अनि अण्डा पार्नका लागि आफ्नो घर निर्माण गर्छ । पोथीको शरीरबाट एक प्रकारको गम वा नरम पदार्थ निस्कन्छ, जसलाई लाहा भनिन्छ । लाहा भालेले बनाउन सक्दैन । 

लाहा उत्पादनका लागि मनसुनी वर्षा र १५ डिग्री सेल्सियसदेखि ४०/४५ डिग्री सेल्सियसम्म तापक्रम राम्रो मानिन्छ । वातावरणका दृष्टिले नेपालमा यसको खेती उपयुक्त देखिन्छ । 

यसको बजार

लाहाको प्रयोग फर्निचरको रङ, गरगहना, मेकअपका सामान, जुत्ताको पोलिस, नेल पोलिस, क्याप्सुल, ट्याब्लेट, बिजुलीका बल्ब, लाहा छाप, हातहतियार आदिमा प्रयोग गरिन्छ । त्यसैले यसको बजार नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत छ । 

 

Author

दीपक सुवेदी