अनिल पराजुली
हेटौँडा, चैत १७ गते । बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने प्रयासको थालनी गरेको बताउनुभएको छ । उहाँले प्रदेशसभाको गतिबिधिलाई युटुवमार्फत् प्रत्यक्ष प्रसारण गरिरहेको स्मण गराउँदै प्रदेश सभाको गतिबिधिलाई काठमाडौँका दृश्य प्रदर्शन इकाईमार्फत् पनि प्रसारण गर्ने तयारी भईरहेको जानकारी दिनुभयो ।
प्रदेश सभा सचिवालयको आयोजनामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै संसदले जनताको भावना उजागर गर्नुपर्नेमा जोड दिदै सभामुख पाठकले पत्रकारले पनि गलत भएका विषयलाई सुधार्न सकारात्मक सुझाव दिनुपर्नेमा जोड दिनुभयो । हरेक मान्छेले गल्ती गर्छ, त्यो गल्ती नदोहोर्या मात्रै सफल भइन्छ, सभामुख पाठकले भन्नुभयो ।
पछिल्लो समय पत्रकारिताको स्वरुपमा परिर्वतन आएको जिकिर गर्दै उहाँले २०४६ र २०६२, २०६३ पछि आम संचार माध्यमको विकासमा ठुलो परिर्वतन आएको बताउनुभयो । आमसंचारको विकाससँगै नयाँ चुनौति थपिएको जिकिर गर्दै हिजोको दिनमा पत्रपत्रिका, टेलिभिजन र रेडियो सुनेर हेरेर दृष्टिकोण बनाएकोमा अहिले सामाजिक संजाल हेरेर आम नागरिकले आफ्नो धारणा बनाउन थालेको उहाँको भनाइ छ ।
अहिले विश्वमा इन्टरनेट शक्तिशाली बनेको बताउँदै गलत सूचना प्रवाह हुनसक्ने चुनौति रहेको उहाँको भनाइ छ । प्रविधिको युगमा त्यसलाई सही प्रयोग गर्न सकेमात्रै समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन सकिने उहाँको तर्क छ । कार्यक्रममा संसदीय पत्रकारिता गरिरहनुभएका पत्रकार हरीबहादुर थापा र राष्ट्रिय सभाका पूर्बसचिव राजेन्द्र फुँयालले कार्यपत्र प्रस्तुती गर्नुभएको थियो भने संसदीय पत्रकारिता गरिहरनुभएका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।