• ११ मंसिर २०८१, मङ्गलबार

आगलागीको प्रकोप र नियन्त्रणका उपाय

blog

हिउँद लागेसँगै सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहन्छ । देशमा आगलागीमा परेर यो वर्ष मात्रै एक सयभन्दा धेरैको मृत्यु भइसकेको छ भने दुई अर्ब रुपियाँभन्दा धेरैको भौतिक क्षति भएको गृह मन्त्रालयको विपत् पोर्टलमा उल्लेख छ । वन डढेलोले खरानी पार्ने अमूल्य जैविक विविधताको लेखाजोखा नै छैन । बर्सेनि डढेलोबाट हजारौँ हेक्टर वनक्षेत्र सखाप हुने गरेको छ ।

आगो मानिसका लागि तापको स्रोत हो र यो अनिवार्य र उपयोगी छ । आगोको प्रयोगमा सावधानी अपनाउन सकिएन र यो नियन्त्रणबाहिर गयो भने त्यो मानिस मात्रै नभएर सम्पूर्ण वातावरणकै लागि अभिशाप बन्छ । भनिन्छ, एउटा रुखबाट लाखौँ सलाईका काँटी बन्छन् तर एउटा सलाईको काँटी लाखौँ रुख जलाउन सक्षम हुन्छ । यसबाट पनि आगोप्रतिको असावधानी कति महँगो साबित हुन्छ भन्ने प्रस्ट हुन्छ ।

अक्सिजन र इन्धनसँग घर्षण वा ताप मिसिँदा हुने रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने तापीय शक्ति नै आगो हो । आगो उत्पत्ति हुँदा रासायनिक प्रतिक्रिया भए जस्तै आगो बलिरहँदा पनि रासायनिक प्रतिक्रिया चलिरहन्छ । इन्धनमा भएको कार्बन तत्व अक्सिजनसँग मिसिएर कार्बनडाइअक्साइड बन्छ; जुन धुवाँका रूपमा निस्किन्छ । त्यसबाहेक अँगार, ध्वाँसो, खरानी तथा कार्बन मोनोअक्साइड, नाइट्रोजनडाइअक्साइड र हाइड्रोजन सल्फाइड जस्ता वातावरणीय विकार र विषाक्त तत्व पनि निस्किन्छन्; जो वातावरणीय प्रदूषणका मुख्य कारण बन्छन् । 

आगलागी वा डढेलोले भौतिक र जैविक क्षति मात्र पु¥याउने होइन, त्यसले दीर्घकालीन रूपमा वातावरणको क्षयीकरण गरिरहेको हुन्छ । आगो लागिसकेपछि निस्कने धुलो, धुवाँ तथा खरानी तथा विषाक्त ग्यासले श्वास प्रश्वासको क्रममा मानव स्वास्थ्यमा ठुलो असर पु¥याउँछ । ग्रीष्मयाममा लागेको डढेलोले जम्मा गरेको खरानी र फोहोर वर्षायाममा बगेर पानीका विभिन्न स्रोतमा मिसिन पुग्छ र जलप्रदूषण गराउँछ । डढेलोबाट निस्कने कार्बनडाइअक्साइड, नाइट्रोजनअक्साइड जस्ता ग्यास हरित गृह प्रभाव र ओजन तहको विनाशका लागि जिम्मेवार मानिन्छन् । 

आगलागीका कारण  

अक्सिजन, इन्धन र ताप वा घर्षणको संयोजनबाट रासायनिक प्रतिक्रिया हुन गई आगो उत्पन्न हुन्छ । यस्तो संयोजन प्रकृतिमा आफैँ पनि हुन सक्छ र मानवीय कारणले पनि आगलागी हुन सक्छ । यस अर्थमा आगलागी प्राकृतिक वा मानवीय दुई कारणले हुन्छ । 

प्राकृतिक कारण 

  • चट्याङका कारण आगो उत्पन्न भएर हुने आगलागी ।
  • भुइँचालोलगायतका प्रकोपका कारण चट्टानमा घर्षण हुने वा प्रज्वलनशील पदार्थ पोखिने वा मिसिने कारण उत्पन्न हुने आगलागी । 
  • सुकेका रुखका हाँगा एक आपसमा रगडिएर आगो उत्पन्न भई हुने आगलागी ।
  • पानीको सतह वा चम्किलो ढुङ्गालगायतका वस्तुले लेन्सका रूपमा सूर्यको किरण परावर्तन गरी लगातार कुनै सुकेको वस्तुमा ठोक्किएर आगो उत्पन्न भएर पनि आगलागी हुन सक्छ । 
  • चिहान क्षेत्र अथवा मरेका जीवजन्तु फ्याँकिने क्षेत्रमा रहेका हड्डीमा पाइने फोस्फोरस, क्याल्सियम जस्ता तìवहरू रातको समयमा अक्सिजनको उपस्थितिमा रासायनिक प्रतिक्रिया भई आफैँ बल्न सक्छन् र आगो उत्पन्न हुन गई आगलागी हुन सक्छ ।  हुरीबतासले एक ठाउँको आगो अर्को ठाउँमा फैलाएर । 

मानवीय कारण 

आगोको प्रयोग मासिनले ढुङ्गे युगदेखि नै गर्न थालेको हो र यो मानव जीवनका लागि अत्यावश्यक छ । मात्र यसको असावधानीपूर्ण प्रयोग हानिकारक र ध्वंसात्मक हुन्छ । 

आगलागीका कृत्रिम कारण

  • विस्फोटक पदार्थबाट हुने आगलागी ।
  • विद्युतीय वाइरिङमा गडबडी तथा मुख्य लाइनमै तार सर्ट हुँदा आगो लाग्न सक्छ । 
  • जङ्गलका जुका मार्न वा नयाँ पालुवा पलाउँछ भन्दै मानिस आफैँले जङ्गलमा आगो लगाउने प्रवृत्ति । 
  • आवास, उद्योग कलकारखानालगायतका क्षेत्रमा विभिन्न कारणले आगो सल्किनु ।
  • प्रज्वलनशील पदार्थ तथा सलाई, लाइटर जस्ता आगो बाल्न प्रयोग हुने वस्तु सुरक्षित नराख्नु; जसका कारण केटाकेटीले जथाभावी प्रयोग गरेर आगो लाग्न सक्छ । 

आगलागी नियन्त्रण 

प्राकृतिक कारणले हुने आगलागी नियन्त्रण गर्न कठिन हुन्छ तर पनि सचेतना अपनाउने हो भने कृत्रिम तबरले हुने आगलागी र सबै प्रकारका आगलागीको जोखिम घटाउन सकिन्छ । सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो । आगो लागेर निभाउनुभन्दा आगो लाग्नै नदिनु उत्तम उपाय हो । त्यसका लागि यी निम्न उपाय अवलम्बन गर्नु पर्छ : 

  • सतर्कताका साथ आगोको प्रयोग गर्ने र काम सकिएपछि निभाउने ।
  • हुरी बतास चलेको बेला आगो नबाल्ने, चुरोट बिँडीका ठुटा जथाभावी नफाल्ने र निभाएर मात्रै फ्याँक्ने । 
  • सलाई, लाइटर, मटितेल, पेट्रोल, ग्यास जस्ता आगो लगाउने वा प्रज्वलनशील पदार्थलाई केटाकेटीले नभेट्ने गरी सुरक्षित ठाउँमा राख्ने ।
  • आगो वा टुकी बाल्दा घरको छानो वा प्रज्वलनशील पदार्थको नजिक नबाल्ने । 
  • घरको विद्युत् वायरिङ ठिक छ/छैन प्राविधिकलाई जचाइरहने । 
  • घर वरपरको घु¥यान सफा गर्ने । 
  • जङ्गलमा जथाभावी आगो नलगाउने । 

आगो लागिहालेमा के गर्ने ?

  • सम्भव र सुलभ ठाउँ भएमा दमकललाई तत्काल बोलाउने । 
  • आगो नियन्त्रणका लागि प्रहरी र रेडक्रसलाई खबर गर्ने । 
  • आगो लागेको जानकारी सबैमा गराउन झ्याली पिट्ने वा कराउने र आगो नियन्त्रणका लागि जनसहभागिता जुटाउने ।
  • पानी, हरिया बोटबिरुवा (सेउला), बालुवा तथा माटो जस्ता पदार्थ ओसार्ने र आगलागी भएको ठाउँमा आगो निभाउन प्रयोग गर्ने ।
  • डढेलो नियन्त्रणका लागि जङ्गलमा अग्निरेखा बनाउने तर जथाभावी डढेलो फैलिएको क्षेत्रमा नपस्ने, आगो र हावाको दिशा हेरेर मात्रै आगो निभाउनतिर लाग्ने ।
  • आगो लागेको घरभित्र फसेका वा आगलागीमा परेका मानिसलाई सुरक्षित बाहिर निकाल्न प्रयास गर्ने । 
  • आगलागीपीडितको उद्धार तथा राहतमा सहयोग गर्ने । 

नेपालमा हुने प्रमुख प्रकोपजन्य घटनामध्ये आगलागी पनि एक हो । नेपालमा हरेक वर्ष आगलागीमा परेर दर्जनौँ मानिसको ज्यान जाने गरेको छ । धेरैले घरबारविहीन हुनु परेको छ । आगोले नष्ट गर्ने भौतिक सम्पत्तिको मूल्याङ्कन गर्न सकिन्छ, आगोमा परी ज्यान गुमाउने मानिसको गणना गर्न सकिएला तर आगोले नष्ट पार्ने अथाह जैविक विविधताको मापन गर्नै सकिन्न । सुक्खायाममा बर्सेनि डढेलोले सखाप पार्ने वनजङ्गल तथा त्यहाँका प्राणी र वनस्पतिको क्षतितर्फ उति सारो चासो दिइएको पाइँदैन । डढेलोलाई फगत एक प्राकृतिक प्रक्रियाका रूपमा मात्रै लिइने गरेको पाइन्छ । 

जङ्गलमा लागेको डढेलो मानव बस्तीमा पस्न थाल्यो भने मात्रै आगो निभाउन जाने चलन छ । डढेलोले जैविक विविधता र वातावरणमा पु¥याउने दीर्घकालीन क्षतिप्रति धेरै अनभिज्ञ छन् त कतिले जानेरै बुझ पचाइरहेका छन् । जलवायु परिवर्तनका कारण तापमानमा भइरहेको वृद्धि, बढ्दो सुक्खा र खडेरी तथा पानीका स्रोतको क्षयीकरणलगायतका कारणले पनि आगोलागी वा डढेलोजन्य प्रकोप बढिरहेका छन् ।

हाम्रो वनजङ्गल पनि अधिकांश पतझड प्रकृतिको रहेको, हिउँदका महिना सुक्खा रहने र झरेका पातपतिङ्गरलाई आगोले टिप्ने सम्भावना बढिरहेका कारण डढेलो लाग्ने गर्छ । अझ गर्मीयाममा चुरे र महाभारत क्षेत्रभित्रका धेरै पानीका मूल सुक्ने हुनाले डढेलोले फैलिने मौका पाउँछ । हुन त नियन्त्रित डढेलो पारिस्थितिक पद्धतिका लागि अनिवार्य जस्तै हुन्छ तर पनि हामीकहाँ लाग्ने डढेलो निकै अनियन्त्रित र जथाभावी प्रकारको हुन्छ; जसले वनस्पति र वन्यजन्तुलाई फाइदाभन्दा धेरै घाटा नै पु¥याउँछ । 

आगो अत्यावश्यक वस्तु हो र यसको जनतपूर्ण प्रयोग आवश्यक हुन्छ । उपयोगी आगोले आगलागी र डढेलोको रूप लियो भने त्यो अभिशाप बन्छ । आगोको क्षति बढाउन मानवीय क्रियाकलाप नै बढी जिम्मेबार हुन्छन् । आगलागीको दर र क्षति घटाउने काममा पनि मानवीय अग्रसरता महत्वपूर्ण रहन्छ । नेपाल प्राकृतिक प्रकोपको दृष्टिकोणले विश्वमै अति जोखिमपूर्ण मुलुकमा पर्छ तर पनि जोखिम न्यूनीकरण तथा विपत् व्यवस्थापनलगायतका क्षेत्रमा अग्रसरता र जनचेतनाको अभाव देखिन्छ । 

आगोजन्य विपत्को न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा पनि सम्बन्धित निकायको उति सारो ध्यान पुग्न सकेको छैन । धेरै सर्वसाधारणमा आगलागीबाट कसरी बच्ने ?  डढेलोका असर के के हुन् ? डढेलो नियन्त्रण कसरी गर्ने ? भन्ने जस्ता न्यूनतम चेतनाको समेत अभाव छ । जसको कारण आगलागी र डढेलोले पु¥याउने क्षतिमा बढोत्तरी भइरहेको छ । त्यसैले बर्सेनि दोहोरिइरहने आगलागी र डढेलोको भयानकता तथा विध्वंसबाट जोगिन सर्वसाधारणमा चेतनाको अभिवृद्धि गर्नै पर्छ । तब मात्रै आगोले गर्ने धनजनको क्षति मात्र होइन, अमूल्य जैविक विविधताको विनाश पनि रोक्न सकिन्छ ।

  

Author

कुलचन्द्र अर्याल