कृष्णबहादुर धामी
दार्चुला, असार ३ गते । जिल्लाको दुहुँ गाउँपालिका–३ मा पर्ने तपोवन श्रीबगर तातोपानीको संरक्षण गर्न सङ्घीय सरकारले महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माणको काम सुरु भएको छ ।
प्राचीनकालदेखि दुहुँ, व्यास, मार्मा क्षेत्रका केही भाग र सदरमुकाम खलङ्गाका मानिसको धार्मिक तथा सांस्कृतिक पर्व मनाउने स्थलका रूपमा रहेको तपोवन तातोपानी संरक्षणका लागि तटबन्ध निर्माण गरिरहेको सिँचाइ तथा नदी व्यवस्थापन आयोजना पाटन, बैतडीका आयोजना प्रमुख कालीबहादुर शाहीले जानकारी दिनुभयो । तातोपानी संरक्षण र नजिकैको श्रीबगर बस्ती जोगाउन सरकारले आर्थिक वर्ष २०७८/७९ मा निर्माण कम्पनी सम्झौता गरेको भए पनि बजेट अभावका कारण हाल आएर काम सुरु भएको उहाँले बताउनुभयो ।
तत्कालीन सरकारले महाकाली नदीको कटानबाट तपोवन तातोपानी र बस्ती जोगाउन पक्की तटबन्ध निर्माण गर्न डडेलधुराको राजेन्द्र निर्माण कम्पनीसँग ११ करोड रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
हिन्दु, बौद्ध, जैन र बोन गरेर चार धर्मका लागि पवित्र पर्वत मानिने कैलाश पर्वत जाँदा प्राचीनकालमा मानिसले तपोवन तातोपानीमा स्नान गरेर जाने गरेको किंवदन्ती रहेको स्थानीय कला संस्कृतिका जानकार दार्चुलाका पूर्वजिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्कीले बताउनुभयो । प्राचीनकालमा सो क्षेत्रमा एकै पटक दुई/तीन सय मानिसले नुहाउन सक्ने तातोपानीको कुण्ड रहेका बारेमा उहाँले जानकारी दिनुभयो ।
२०२७ सालमा पहिलो पटक महाकाली नदीमा आएको बाढीले तातोपानी कुण्ड बगाएको उहाँले स्मरण गर्नुभयो । “तातोपानी कुण्ड र सँगै रहेको शिव मन्दिर बाढीले बगाएको सम्झना मसँग ताजै छन्, धार्मिक र सांस्कृतिक हिसाबले पवित्र स्थलका रूपमा रहेको तपोवन तातोपानीको संरक्षण आवश्यक छ,” उहाँले भन्नुभयो । बाढीले क्षति गरेको तपोवन तातोपानी क्षेत्रको महìव र विशेषता अझै घटेको छैन । शिवरात्रिका दिन यहाँका मानिस बिहानै तातोपानीमा नुहाउन तपोवन पुग्ने गर्छन् । विवाह, व्रतवन्ध जस्ता धार्मिक कार्य पनि सो क्षेत्रमा हुने गर्छन् ।
२०७० सालमा महाकाली नदीमा आएको बाढीले तातोपानीको मुहान बगाएपछि अहिले संरक्षणका लागि पक्की तटबन्ध निर्माण भइरहेको छ ।