• १५ वैशाख २०८१, शनिबार

निर्माण सुरु भएको दश वर्षपछि पुल सञ्चालनमा

blog

तनहुँ र चितवन जोड्ने पुल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १६ गते । निर्माण सुरु भएको दश वर्षपछि तनहुँ र चितवन जोड्ने पुल सञ्चालनमा आएको छ । तनहुँको देवघाट गाउँपालिका-५ को घिनटार र चितवनको भरतपुर महानगरपालिका-१ को ठिमुरा जोड्ने मोटर पुल सञ्चालनमा आएको हो । 

यो पुल सञ्चालनमा आएसँगै देवघाट आवतजावत गर्ने भक्तजन र स्थानीय बासिन्दा लाभान्वित भएको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । निर्माण सुरु भए यता पटकपटक निर्माण कम्पनीले काम छोडेर जाने गरेका कारण पुल बन्नेमा शंका गरिरहेका स्थानीयहरू नदीमा पुल बनेपछि खुशी छन् । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले पुलको निर्माणमा ढिलाइ हुने, डिजाइन परिवर्तन हुने लगायतले गर्दा पुल बन्दैन की भनेर चिन्तित बनेका स्थानीय बासिन्दा सञ्चालनमा आएपछि खुसी भएको बताउनुभयो । सडक डिभिजन कार्यालयका अनुसार पुल निर्माणको कार्य २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । निर्माणका क्रममा पटकपटक प्राविधिक समस्या आउँदा निर्माण कार्य ढिला हुन पुगेको थियो । 

निर्माण सुरु हुनुअघि बनाइएको नक्साङ्कन बिचमा संशोधन गर्नुपर्दा ढिलाइ भएको थियो । निर्माण सुरु गरी नक्सा परिवर्तन गराई अनुमति लिनका लागि मात्रै ३० महिना लागेको थियो । पुल निर्माण भएको स्थानमा नदी निकै गहिरो भएको र पानी कटाउन नसक्दा नदीको मुख्य गहिराइमाथि नक्सा परिवर्तनपछि ८० मिटरसम्म स्टिल स्पान राखेर पुल निर्माण गरिएको हो । 

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्ने गरी एलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले काम गरेको थियो । मोटर गुड्ने यस पुल निर्माणका लागि सुरुमा रु १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत रु २१ करोड ६८ लाख ४८ हजार छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, निर्माण पुरा हुने लाग्दा पुल भत्किनुलगायतले गर्दा पुल निर्माणमा ढिलाइ भएको हो ।

सम्झौतामा तीन वर्षभित्र काम पुरा हुनुपर्ने भएपनि नसकिएपछि पटकपटक म्याद थप भएको थियो । निर्माणका क्रममा दुई पटक उक्त पुल भत्किएको थियो । त्यसक्रममा तीन जना मजदुरले ज्यान गुमाएका थिए । पहिलो पटक विसं २०७७ चैत २४ गते पुल भत्किँदा मानवीय क्षति भएको थिएन । 

दोस्रो पटक विसं २०७८ वैशाख १२ गते पुल भत्किँदा काम गरिरहेका तीन जना मजदुरको नदीले बगाउँदा डुबेर मृत्यु भएको थियो । यसरी पुल भत्किएपछि काममा थप ढिलाइ भएको थियो । नव निर्मित पुलको शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको देवघाट गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।