• १६ वैशाख २०८१, आइतबार

देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न सकेन : राजेन्द्र महतो

blog

पत्रकार सम्मेलनमा नेता राजेन्द्र महतो। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत १६ गते। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशको देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न नसकेकाे बताउनुभएको छ। 

शुक्रबार बिहान सर्लाहीको लालबन्दीमा पत्रकारसँग कुरा गर्दै महतोले देश आफ्नै विचार, परिस्थिति, संस्कृति र सभ्यताको आधारमा सञ्चालन हुन नसकेको बताउनुभएको हो। उहाँले वर्तमान शासन र संविधानबाट जनतामाथि विभिन्न प्रकारका उपेक्षा, विभेद र शोषण गरिएको तर्क गर्नुभयो। 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर बहुल राष्ट्रिय राज्यको नारासहित अभियान लिएर हिँडिरहनुभएका महतोले एकल चिन्तन सोचबाट देश चलाउँदा अहिलेको अवस्था सिर्जना भएको बताउनुभएको छ। विविधता, विभिन्न पहिचान र राष्ट्रियताले भरिएको देशलाई एकल चिन्तन सोचबाट अप्राकृतिक हिसाबले सञ्चालन गरिएको महतोको भनाइ छ। 

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका महतोले सङ्घीयताको मर्म र भावनाविपरीत सबैथोक केन्द्रको मातहतमा राखेर बेइमानी गरिएको बताउनुभयो। यही कारणले सङ्घीयताको व्यवस्था नै खराब हो भन्ने सन्देश तल्लो तहमा पुगेको महतोको भनाइ छ। 

उहाँले बहुल राष्ट्रिय राज्य स्थापनार्थ आफूले सुरु गरेको अभियान विखण्डनको कुरा हो कि भनेर भ्रम छर्न खोजिएकाले त्यस कुराको पछि नलाग्न आग्रह गर्नुभएको छ।