• १५ वैशाख २०८१, शनिबार

बाँकेबाट ४६ बालबन्दीले दिए एसइई

blog

बाँकेका बालबन्दीहरु एसइई दिंँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १५ गते । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा बाँकेबाट दुई वटा बाल सुधारगृहमा रहेका ४६ जना बालबन्दी सहभागी भएका छन् । जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्तास्थित बालसुधार गृहमा रहेका ४६ जना बालबन्दीहरु यस पटकको एसइईमा सहभागी भएका हुन् । 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार डुडुवाको जयन्दु बाल सुधारगृहबाट ३४ जना र नौबस्ता बाल सुधारगृहबाट १२ जना बालबन्दी गरेर ४६ जना परीक्षामा सहभागी भएका छन् । सोही प्रकारले नेपालगन्जस्थित बाँके कारगारबाट पनि एक कैदी बन्दीले समेत एसइई दिइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो। 

उहाँले बाँकेमा पहिलो दिनको परीक्षा निकै शान्तिपूर्ण र मर्यादित तरिकाले भएको जनाउँदै परीक्षालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको कडा प्रबन्ध मिलाउनुका साथै अनुगमन र निरीक्षण पनि निरन्तर गरिएको बताउनुभयो । 

परीक्षालाई स्वच्छ र निष्पक्ष बनाउन सुरक्षाकर्मीको रोहबरमा मात्र प्रश्न पत्र खोलिएको र परीक्षा अवधिभर विद्यार्थी र निरीक्षक दुबैलाई परीक्षास्थलमा मोबाइल प्रयोग गर्न नदिने व्यवस्था मिलाइएको प्रजिअ पोखरेलले बताउनुभयो । 

बाँके जिल्लामा ३४ वटा परीक्षा केन्द्रमार्फत नौ हजार २९३ जना परीक्षार्थी परीक्षामा सहभागी भएको जनाइएको छ ।