• १६ वैशाख २०८१, आइतबार

कट्टेलडाँडासम्म कालोपत्रे हुँदै

blog

गुणबहादुर रोका

सुलीकोट, चैत १५ गते । गोरखा सदरमुकामबाट नजिकै रहेको ऐतिहासिक तथा सुप्रसिद्ध बौद्धिक थलोको रूपमा प्रख्यात गोरखा सदरमुकामबाट झन्डै दुई किलोमिटरको दूरीमा पर्ने कट्टेल चोकदेखि कट्टेलडाँडासम्म सडक कालोपत्रे हुने भएको छ । गोरखा सदरमुकामबाट दुई किलोमिटर सडक बाटो कालो पत्रे हुन लागेको हो ।

सदरमुकामबाट निकट रहेता पनि ३० वर्ष देखि यस ठाउँ बत्तीमुनिको अँध्यारो जस्तो भएको थियो ।  धेरै समयको प्रयास पछि अहिले आएर कालोपत्रे हुन लागेको गोरखा नगरपालिका – ८ स्थित कट्टेल डाँडाका स्थानीय तथा पूर्व मेयर विश्वेश्वर कट्टेलले बताउनु भयो । गोरखा नगरपालिकाको विशेष पहलमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट अन्तर्गत पूर्वाधार कार्यालय गोरखा मार्फत कालोपत्रे गर्न लागिएको हो । 

सडक कालोपत्रे योजनाका लागि कृषल एवन जेबी कम्पनीसँग २०८० साल वैशाख ११ गते सम्झौता भएर काम अघि बढेको  पूर्वाधार कार्यालय गोरखाका निमित्त प्रमुख गणेश सुवेदीले जानकारी दिनुभयो । २०८१ साल वैशाख ११ गते सम्पन्न गर्नुपर्ने कालोपत्रे सडकको काम समय सीमाभन्दा पहिला नै सम्पन्न हुने गरी निर्माण कम्पनीले लगभग अन्तिम चरणमा पुर्‍याएको उहाँको भनाइ छ । 

कट्टेलचोकदेखि कट्टेलडाँडासम्म ऐतिहासिक महत्त्व राख्ने भएकाले यस सडकलाई कालोपत्रे गर्न गोरखा नगरपालिकाले विशेष चासो राखेर बजेट माग गरिएको गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस सडकले नजिकै रहेको शहिदलखन गाउँपालिकामा जान कट्टेलडाँडाबाट असाध्यै नजिक भएकाले पनि सदरमुकाम र शहिदलखन गाउँपालिका जोड्ने कडीको रूपमा यस कालोपत्रे सडकले महत्त्व राख्ने विश्वास व्यक्त गर्नुभयो । यस सडकले गोरखा नगरपालिका र शहिदलखन गाउँपालिका सम्म सहजै व्यापार ब्याबशायमा महत्त्वपूर्ण अर्थ राख्नेछ । 

यता पूर्वाधार कार्यालय गोरखाका साइड इन्जिनियर निर्मला बरालले भने यसै गरी निर्माण कम्पनीले बेलैमा काममा ध्यान दिएर चासोको साथ काम अघि बढाउने हो भने विकासले गति लिने उहाँको विश्वास छ । अहिले त्यस सडक कालोपत्रे हुने भएपछि  त्यहाँका स्थानीयहरू खुसी भएका छन् । 

पूर्वाधार कार्यालय गोरखाको ४ करोड ११ लाख रुपैयाँमा पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच २ किलो मिटर सडक कालोपत्रे र एक साइडमा नाली बनाउनुपर्ने सम्झौता उल्लेख छ । ३ . ७५ मिटर चौडाइ र २ किलोमिटर लम्बाइ, सबबेस,सबग्रेड फाइनल भएकाले समय सीमाभित्र भन्दा अगाडि नै कालोपत्रे सम्पन्न हुने विश्वास लिएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।