• १२ साउन २०८१, शनिबार

अस्पतालको आधा करोड रुपियाँ भाडा उठेन

blog

टीकापुर अस्पतालले भाडामा लगाएको क्षेत्रमा बनेका घर । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, चैत १५ गते । टीकापुर अस्पतालको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका १०१ जना व्यवसायीले भाडा नतिरेको पाइएको छ । २०८० सालको पुस मसान्तसम्म ५३ लाख ४६ हजार रुपियाँ भाडा उठ्न बाँकी रहेको छ ।  भाडामा बसेका १०८ जनामध्ये सात जनाले मात्रै पूरै भाडा चुक्ता गरेका छन् । समयमा भाडा नतिर्ने १०१ जनाबाट उठ्न बाँकी बक्यौता ५३ लाख ४६ हजार रुपियाँ रहेको अस्पतालका लेखा अधिकृत निता रेग्मीले बताउनुभयो । 

अस्पतालले केही सटर भाडामा लगाएको छ भने केही व्यक्तिले जग्गा भाडामा लिएर अस्थायी टहरा बनाई व्यापार व्यवसाय गर्दै आएका छन् । पे्रम ठकुरी सञ्चालक रहेको करुणा सिमेन्ट टायल उद्योगले तीन लाख ५० हजार रुपियाँ तिर्न बाँकी छ । 

त्यस्तै कमल बाकस उद्योगले दुई लाख २६ हजार, चक्र बटालाले दुई लाख सात हजार र देशराज चौधरीले सञ्चालनमा ल्याएको देशराज बङ्गुर पसलले दुई लाख रुपियाँ तिर्न बाँकी छ ।

सरोज टे«ड जोनले एक लाख ९० हजार, सेवु जनरल स्टोरले एक लाख ७४ हजार, रविना कटेजले एक लाख ६४ हजार, जीवन गौचनले एक लाख ३५ हजार, तेजराम चौधरीले एक लाख २३ हजार र कमलदीप फार्मेसीले एक लाख १८ हजार रुपियाँ भाडा रकम तिर्न बाँकी रहेको छ । 

अर्का व्यवसायी टेकबहादुर रावलले एक लाख १५ हजार, आरके प्याथोलोजीले एक लाख १३ हजार, काठमाडौँ सेल्सका राजकुमार सापकोटाले एक लाख छ हजार र जमानसिंह बटालाले एक लाख दुई हजार रुपियाँ तिर्न बाँकी रहेको छ । अस्पतालले आफैँलाई भवन चाहिएपछि हटाएका नौ वटा फर्मले आठ लाख २० हजार रुपियाँ भाडा नबुझाई छाडेको अस्पतालले जनाएको छ । भाडा नतिरेको विषयमा कतिपय व्यवसायी बोल्न चाहेनन् । 

भाडा तिर्न बाँकी चक्र बटालाले भने आर्थिक मन्दीका कारण भाडा तिर्न नसकेको र तिर्न सक्ने वातावरण भएपछि तिरौँला भन्नुभयो । देशराज चौधरी यही महिना ४० हजार बुझाएको र बाँकी दुई लाख हरेक महिना ५० हजार रुपियाँका दरले तिर्न लागेको बताउनुहुन्छ । 

कतिपयले सस्तोमा भाडामा लिएर अरूलाई महँगोमा जग्गा भाडामा लगाएको पाइएको छ । सचेत व्यवसायीले पहिलेको हिसाब फरफारक मात्रै गरेर मात्रै किन्ने गरेका छन् । शिवको खिर पसलका सञ्चालक ललित थापा आफूले पहिलेको सबै भाडा चुक्ता गरेर मात्रै होटल किनेको बताउनुहुन्छ ।  अस्पतालका लेखा अधिकृत रेग्मीले पछिल्लो समय महालेखाको प्रतिवेदनले नै बक्यौता असुली गर्न निर्देशन दिएपछि त्यसको बेहोरासहित प्रत्येक व्यवसायीलाई भाडा बुझाउन ताकिता पत्र बुझाइएको बताउनुभयो ।