• १६ वैशाख २०८१, आइतबार

एमाले कास्की अध्यक्षमा अधिकारी

blog

कास्की अध्यक्षमा निर्वाचित बैनबहादुर अधिकारी क्षेत्री ।

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १४ गते । नेकपा (एमाले) कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ । अधिकारी पाँचसय ५१ मतसहित विजयी बन्नुभएको हो । 

बुधबार साँझ सार्वजनिक परिणामअनुसार अधिकारीका प्रतिस्पर्धी माधव बास्तोलाले तीन सय ४७ र अध्यक्षका अर्का उम्मेदवार विवेक त्रिपाठीले १७ मत पाउनुभयो । 

पदाधिकारीमा पनि अधिकारी प्यानलकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा भेषराज बराल पाँचसय २७ मतसहित विजयीभन्दा उहाँका प्रतिस्पर्धी शिवप्रसाद आचार्यले तीनसय ८८ मत पाउनुभएको छ । 

यस्तै, सचिवमा दर्शन लामा पाँचसय ९५ मत ल्याएर चुनिँदा सुरेन्द्र गुरुङले तीनसय २० मत पाउनुभयो । उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलामा सन्तु सुवेदी विजयी हुनुभएको छ । 

उपसचिवकी उम्मेदवार सङ्गीता सुवेदीले ६१ मत पाउनुभयो । शनिबार एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि लम्बिएको थियो । अधिवेशनमा नौसय २६ प्रतिनिधिमध्ये नौसय १२ जनाले मतदान गरेका थिए ।  

अधिवेशनबाट सात सदस्य सर्वसम्मत भएका छन् । अपाङ्गतातर्फ गङ्गाबहादुर खड्का र बुद्धिजीवी क्लस्टरका दुई सदस्यमा दुर्गा भण्डारी र विजय शर्माको मात्र उम्मेदवारी परेको थियो । मादी गाउँपालिकाबाट महिलातर्फ कल्पना गुरुङ र विष्णुमाया पौडेल र रुपा गाउँपालिकाबाट पनि सोही क्लष्टरमा कशिरना मियाँ र हिताकुमारी रुपाखेती ‘सार्की’ निर्विरोध चुनिनुभयो ।