• २१ वैशाख २०८१, शुक्रबार

भैँसीपालक कृषकलाई सुत्केरी भत्ता

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत १४ गते । गुल्मीको मालिका गाउँपालिकाले भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को स्वीकृत कार्यक्रमअनुसार पहिलो बेत ब्याउने भैँसीलाई सुत्केरी भत्ता प्रदान गर्न लागेको हो । 

गाउँपालिकाको वडा ८ कार्यालयले एक सूचना जारी गर्दै सुत्केरी भत्ता प्राप्त गर्न चाहने पशुपालक कृषकसँग निवेदन माग गरेको छ । यहाँका वडा अध्यक्ष सूर्यबहादुर घर्ती क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा चालु आर्थिक वर्षको साउनदेखि ब्याएका भैंसीपालक कृषकलाई सो भत्ता प्रदान गरिने बताएको छ ।

सुत्केरी भत्ता लिन चाहने  कृषकले निवेदन, वडा कार्यालयको सिफारिस, भैँसीधनीको चेकको फोटोकपी, नागरिकताको प्रतिलिपि, सुत्केरी भैँसीसँगै खिचिएको फोटोलगायतका आवश्यक कागजात पेस गर्नुपर्ने छ ।

त्यस्तै, कृषकको घरमा जन्मेको भैँसीको पाडी पहिलो बेत घरमै ब्याएको हुनुपर्ने भनिएको छ । कम्तीमा तीन जना छिमेकी साक्षी बसेर मुचुल्का गनुपर्ने छ । पहिलो बेत ब्याउने भैँसीलाई सुत्केरी भत्ता वितरण कार्यविधि २०८० अनुसार भत्ता प्रदान गरिने बताइएको छ ।