• २० वैशाख २०८१, बिहिबार

कृषिमूल्य सूचना प्रणाली सञ्चालनमा

blog

शशिधर पराजुली 

विराटनगर, चैत १४ गते । प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गर्नुभएको हो ।

कोशी प्रदेशमा उत्पादन भएका कृषिउपजको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ताबिचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने भएकाले कोशी प्रदेशमा पहिलो पटक सुरुवात् गरिएको मन्त्रालयले जनाएको छ । 

उत्पादित उपजको बजारमूल्य बारेमा जानकारी नपाउँदा किसानले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउने सूचना प्रणालीले सहयोग पुग्नेछ । फरक–फरक बजारमा वस्तुको फरक मूल्य हुने भएकाले किसान र व्यापारीहरुले बजार छनौट गर्न सक्ने अवसर पनि यो प्रणाली उपलब्ध गराउने मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत पशुपति पोखरेलले बताउनुभयो । 

मंगलबारबाट सुरु भएको प्रणालीमा कोशी प्रदेशका तीन ठूला कृषि बजारहरु बिर्तामोड, धरान र इनरुवाको थोक तथा खुद्रा मूल्य समावेश गरिएको छ । विराटनगरको कृषिबजार भने मूल्य सूचना प्रणालीमा समावेश भएको छैन । विराटनगर कृषि थोक तथा खुद्रा बजार व्यवस्थापन समितिले आधिकारिक रुपमा वस्तुको मूल्य संकलन गर्ने परिपाटी विकास नगरेका कारण कृषिमूल्य प्रणालीमा समावेश गर्न नसकेको अधिकृत पोखरेलले जानकारी दिनुभयो । 

विराटनगर महानगरपालिकासँग समन्वय गरेर बजार व्यवस्थापन समितिलाई व्यवस्थित गरी सूचना प्रणालीमा समावेश गर्न समन्वय गर्ने मन्त्रालयले जानकारी दिएको छ । यस बाहेक अरु केही साना कृषि बजारहरुबाट पनि सूचना संकलन गरी नियमित वेवसाइटमा प्रकाशन गरिने कार्यक्रममा जानकारी दिइएको छ । 

कृषिउपज बिक्रेताको सहजताका लागि प्रणालीमा काठमाडौंको कालिमाटी तरकारी बजारको मूल्यसूचिलाई पनि समावेश गरिएको छ । दैनिकरुपमा कृषिउपजहरुको मूल्यसूचि अद्यावधिक गर्न बजारमा सूचना संकलकहरु परिचालन गरिएको र स्वीस सरकारको सहज परियोजनाको सहयोगमा सूचना प्रशोधनकर्तामार्फत नियमितरुपमा मूल्यसूचि अपलोड गर्ने व्यवस्था मिलाएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले रियलटाइमको मूल्यबारेमा जानकारी नपाउँदा किसानले वस्तुको उचित मूल्य पाउन नसकिरहेको विद्यमान अवस्था हटाउन यो प्रणालीको भरपुर सदुपयोग गर्नुपर्ने बताउनुभयो । तीन तहका सरकार मिलेर किसानलाई उचित सूचना, मल, बीउ, तथा परामर्श आदि सेवाहरु दिँदै कृषि उत्पादन बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री खत्रीले कृषि  उत्पादनबाट मात्र मुलुकको समृद्धि सम्भव भएको भन्दै आत्मनिर्भर कृषि उत्पादनतर्फ अगाडि बढ्नुको विकल्न नरहेको बताउनुभयो । मन्त्रालयका सचिव लेखराज दाहालले कृषि सूचना प्रणालीलाई निरन्तरता दिँदै परिस्कृत गर्दै लगिने बताउनुभयो । यसको लाभ सबैभन्दा बढी व्यापारीले र त्यसपछि किसानले लिनुपर्ने उहाँले बताउनुभयो । 

स्थानीय तहका प्रमुखको पनि उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका अध्यक्ष बलदेवसिंह गोम्देन तामाङले कृषि उत्पादनमा लाग्ने युवाहरु नहुँदा जमिन बाँझिन थालेको अवस्थामा किसानलाई सहयोग पुग्ने र कृषि कर्म गर्दा आत्मसम्मन र स्वाभिमान उँचो बनाउनेखालका कार्यक्रम जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललगायतले कृषिमूल्य सूचना प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो ।