• १६ वैशाख २०८१, आइतबार

ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी

blog

ऐना पहराको ढुङ्गामा बनाईएको आमा र छोराको आकृति । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत १४ गते । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको ऐना पहराको ढुङ्गामा बनाईएको विभिन्न आकृतिले पर्यटकको ध्यान खिच्न थालेको छ । निर्माण पुरा नहुँदै आकृति हेर्न यतिबेला सयौं पर्यटक पुग्ने गरेका छन् ।

 ढुङ्गा खोपेर आकर्षण बनाउने काम अन्तिम चरणमा पुगेको  र वैशाख १ गते देखि टिकट बिक्री गरी आम्दानी लिने सोच राखिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।  ऐना पहरामा रहेको झरनामा रमाउन आउने पर्यटकलाई थप आकर्षित बनाउन आकृति खोप्ने कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।  गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडियो, टिकटक बनाउनेको भीड लागेपछि गाउँपालिकाले ऐना पहरोलाई पर्यटनको प्रमुख आकर्षण गन्तव्य बनाउन आकृति खोपिएका हुन् । 


गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको यस झरनामा पर्यटकको सधैँ भिड लाग्ने भएकोले थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा आमा र बच्चा, हात्ती लगायतका आकृति बनाउने काम तीव्र भइरहेको छ । ऐना पहरालाई थप आकर्षक बनाई पर्यटकलाई लोभ्याउन प्राकृतिक ढुङ्गामा भगवानलगायतको आकृति कुँदिएको चुमान बताउनुहुन्छ । चालू आर्थिक वर्षमा रु. एक करोड ४० लाख बजेट विनियोजन ढुङ्गामा आकृति बनाउने, बाटो, शौचालय निर्माण लगायतको काम भइरहेको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखी पहरोमा आकृति बनाउने काम भइरहेको छ ।’’ यहाँ स्काइ साइक्लिङ, सिसाको पुल बनाउने दीर्घकालीन योजना रहेको अध्यक्ष चुमानले बताउनुभयो । पृथ्वीराज मार्गसँगै जोडिएको ऐना पहरोमा मनमोहक झरना छ । जोडले झरेको कञ्चन पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले जो कसैको पनि मन लोभ्याउने थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् ।


काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐना पहरो, झरना र ढुङ्गा बनाईएका आकृति हेरेर रमाउने गरेका छन् । चुमानले भन्नुभयो, ‘निमार्ण पुरा हुनु अघि नै पर्यटकको भीड लागेकोले हामीलाई उत्साह थपेको छ ।’  राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्राम स्थलका रूपमा पनि ऐना पहरा झरना विकास भइरहेको पर्यटकलाई नयाँपना दिनको लागि ढुङ्गामा आकृति बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनसुभयो  । शर्माले भन्नुभयो, ‘झरना धेरै ठाउँमा छन् ऐना पहरा झरनालाई अन्य ठाउँको भन्दा पृथक् पहिचान दिन आकृति बनाउन लागेका हौँ ।’’ ‘‘पर्यटकले नयाँ नयाँ आनन्द चाहिरहेकोले पृथक् काम गरेका हौ ।’’ बहुवर्षीय योजनाअन्तर्गत साहसिक खेल, सिसाको पुल, जीप लाइन, स्विमिङ पुल, ढुङ्गामा आकर्षक मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ । 


तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँडी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐना पहरा झरनालाई व्यवस्थित बनाउन  विस्तृत गुरुयोजना तयार भएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार १० करोड रुपियाँ बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । गाउँपालिकाका अनुसार पृथ्वी राजमार्ग भएर दैनिक झन्डै पाँच हजार सवारीसाधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचुर सम्भावना रहेकोले पार्क निर्माणकार्य अघि बढाइएको हो । 

ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी ढुङ्गामा आकृति बनाएर पर्यटक लोभ्याउँदै आँबुखैरेनी