• ११ मंसिर २०८१, मङ्गलबार

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा

blog

ललितपुर, चैत १४ गते ।  ललितपुरको रातो मत्स्येन्द्रनाथको रथमा नयाँ पाङ्ग्रा राख्न तीव्र रूपमा काम भइरहेको छ । २०८१ सालको रथजात्राका लागि नयाँ पाङ्ग्रा बनाउन श्रीपञ्चमीका दिन विधिवत् धार्मिक पूजासहित निर्माणको काम सुरु भएको थियो । 

रथ निर्माणमा काठको काम गर्ने टोलीका नाइके दिलकुमार वाराहीका अनुसार अब आउने मत्स्येन्द्रनाथको रथजात्राका लागि नयाँ पाङ्ग्रा राख्नुपर्ने भएकाले तीव्र रूपमा काम भइरहेको बताउनुभयो । ललितपुरको बेलाछेँ टोलमा पाङ्ग्रा बनाउने गरिन्छ । 

चार वटा पाङ्ग्रा बनाउनका  लागि सामदान जातको रुखको काठ चार फुटको १०८ टुक्रा चाहिने वाराहीले जानकारी दिनुभयो । हरेक १२ वर्षमा नयाँ पाङ्ग्रा राख्नुपर्ने चलन भए पनि यसपालि पुरानो पाङ्ग्राबाट काम लिन नसक्ने अवस्था भएकाले १२ वर्षे जात्रा नपर्दै नयाँ पाङ्ग्रा बनाउन लागिएको उहाँको भनाइ छ । यसअघि २०७२ सालमा पाङ्ग्रा फेरिएको थियो भने त्यसलगत्तै रथ बिग्रेसँगै पाङ्ग्रा पनि बिग्रिएकाले २०७३ सालमा नयाँ फेरिएको थियो ।