• ६ वैशाख २०८२, शनिबार

थारू कला, संस्कृतिको प्रवर्धनमा सक्रिय मिट्ठु

blog

प्रकाशविक्रम शाह

धनगढी, वैशाख ६ गते  ।  थारू कला, संस्कृतिका चित्र बनाएर देखाउँदा पनि धेरैले मिथिला संस्कृति हो भन्ने अवस्थाबिच कैलालीको जानकी गाउँपालिका–३, भगतपुरकी मिट्ठु थारू, थारूकै आफ्नै कला, संस्कृति छ भन्दै हिँड्न थाल्नुभएको छ । हाम्रो आफ्नै संस्कृति, परम्परा, रीतिथिती छ तर धेरै नेपालीलाई जानकारी छैन । त्यसैले छ वर्षदेखि मिट्ठु आफ्ना पुर्खाको कला, संस्कृति चिनाउने अभियानमा लाग्नुभएको छ । 

ललितकला क्याम्पसबाट स्नातक उत्तीर्ण गर्नुभएका ३६ वर्षीय मिट्ठु अहिले थारू कला, संस्कृति संरक्षण गर्दै त्यसको पहिचान दिलाउन प्रयासरत हुनुहुन्छ । थारूको पहिचान देखाउने मूर्ति र चित्र बनाउन पारङ्गत मिट्ठुले संस्कृतिलाई पहिचान दिलाएर त्यसैबाट आफ्नो जीविकोपार्जन गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले वैशाख २ गतेदेखि काठमाडौँमा सञ्चालन गरेको ललितकला मेलामा मिट्ठुका मूर्ति र चित्रकला, मूर्ति र चित्रकलाका पारखीले रुचिका साथ हेरिरहेका छन् । मिट्ठुले राखेको स्टलमा परम्परागत लोकसंस्कृति तथा आधुनिक गरेर २६ वटा मूर्ति र चित्र हेर्न पाइन्छ । यस पटकको कला मेलामा भने थारू कला, संस्कृति चिनाउन जानकी गाउँपालिका कैलालीले मिट्ठुलाई काठमाडौँ पठाएको हो । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी मिट्ठुको मूर्ति र चित्रकलाले आफूहरू प्रभावित भएकाले पालिकाको प्रतिनिधित्व गराउँदै उहाँलाई मेलामा पठाएको बताउनुहुन्छ । 

हामीले जानकीलाई ललितकलाको हब बनाउन खोजेका छौँ, त्यसैले नयाँ र पुराना पुस्तालाई ललितकलासँग जोडिरहेका छौँ  । “मिट्ठु जस्तै अन्यलाई पनि पालिकाले काम दिएको छ,” अध्यक्ष चौधरीले भन्नुभयो । मिट्ठुले दाङको थारू संस्कृति सङ्ग्रहालयका लागि काम पनि गर्नुहुन्छ । मैले कला, संस्कृतिका पारखीले भने अनुसारका मूर्ति र चित्रसमेत बनाउने गरेको छु, उहाँले भन्नुभयो, “यही कामबाट वर्षमा छ लाख रुपियाँ बचत गरेर घर चलाउन सकेको छु ।”