• १६ वैशाख २०८१, आइतबार

खुल्यो वसन्तको आरोहण अनुमति

blog

काठमाडौँ, चैत १४ गते । पर्यटन विभागले वसन्त ऋतुमा हुने हिमाल आरोहण गर्न अनुमति दिन सुरु गरेको छ । आरोहणका लागि उपयुक्त सिजन मानिने वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो ।

विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार मङ्गलबारसम्म विभिन्न पाँच वटा हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिएका छन् । उहाँका अनुसार सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएका हुन् ।

तीमध्ये सबैभन्दा बढी अन्नपूर्ण पहिलोका लागि २४, सगरमाथाका लागि आठ, अमादब्लमका लागि आठ, हिमलुङका लागि पाँच र जुगल हिमाल लागि एक जना आरोहीले अनुमति लिएको उहाँले बताउनुभयो । यस आरोहण अनुमतिबाट एक करोड ८२ लाख ७७ हजार ९८० रुपियाँ हिमाली दस्तुर सङ्कलन भएको विभागले जनाएको छ । वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै ४७८ ले अनुमति लिएका थिए । 

यस वर्ष हिमाल आरोहणका लागि आरोहीले अनलाइन बुकिङ गर्न सक्ने व्यवस्था मिलाइएकाले अनुमति लिन सहज हुनुका साथै आरोहीको सङ्ख्यासमेत बढ्न सक्ने विभागको विश्वास छ । आरोहणको सिजन सुरु भएसँगै सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण गर्ने आरोहीले अब आफ्नो दिसा सगरमाथामा छाड्न नपाउने भएका छन् । पर्यटन विभागसँग, सगरमाथा प्रदूषण नियन्त्रण समितिसँगको समन्वय र सहजीकरणमा खुम्बु पासाङल्हामु गाउँपालिकाले यही वसन्त ऋतुको आरोहणबाट आरोहीले आफ्नो दिसा आधार शिविर हुँदै फिर्ता ल्याउनुपर्ने निर्णय गरेको छ । सगरमाथाको माथिल्लो क्षेत्रमा मानव मलमूत्र, डोरी, टिन, अक्सिजनका खाली सिलिन्डिर, क्यानलगायतका फोहोर रहेकाले हाललाई सर्वोच्च शिखर आरोहण मार्गमा पर्ने ल्होत्से र नुप्से आरोहण गर्ने आरोहीले मानव मल साथमै आधार शिविर ल्याउनुपर्ने भएको हो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष छिरी शेर्पाले भन्नुभयो, “आरोहीले आधार शिविरमाथि विसर्जन गरेको मलमूत्र हिमाली तापक्रमका कारण लामो समयसम्म सड्दैन । त्यसले एकातर्फ हिमाललाई दुर्गन्धित बनाउँदै लगेको र अर्कोतर्फ जलवायु परिवर्तनका कारण हिमालयको स्थितिबारे चिन्ता बढ्दै गएकाले हिमाल दुर्गन्धित हुन नदिन कार्यविधिमै समेटेर यही सिजनदेखि अनिवार्य रूपमा आरोहीले मानव मल फिर्ता ल्याउनुपर्ने नियम लागु गर्न लागेका हौँ ।”

सर्वोच्च शिखरलाई सफा राख्ने प्रयास स्वरूप यो कदम चालिएको बताउँदै उहाँले मानव मल बोक्ने १५ हजार वटा झोला सगरमाथा आधार शिविरमा पु¥याउने काम भइरहेको बताउनुभयो । एउटा झोला पाँच किलो तौल बोक्ने क्षमताको रहेको छ । झोलामा हुने रसायन र धुलोले दिसालाई ठोस बनाई गन्धरहित बनाउने विशेष प्रकारको झोला अमेरिकाबाट खरिद गरिएको हो । 

हाल सगरमाथा क्षेत्रको क्याम्प फोर भनिने साउथ कोल क्षेत्रमा मानव मलको समस्या बढी देखिएको उहाँको भनाइ छ । समुद्री सतहभन्दा सात हजार ९०६ मिटरको उचाइमा रहेको साउथ कोल क्षेत्र सगरमाथा र ल्होत्से हिमाल चढ्ने संयुक्त शिविर हो । उक्त क्षेत्रमा खासै हिउँ नभएकाले आरोहीले खुला रूपमा मलमूत्र बिसर्जन गर्दै आएका छन् ।   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।