मकवानपुर समाचारदाता
हात्तीखोला (मकवानपुर), चैत १३ गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले पालिकाका नागरिकको मुख्य आम्दानीको स्रोत कृषि बनाउने गरी कृषिमा व्यवसायीकरण गर्न सुरु गरेको छ । पशुपालनसँगै कृषिजन्य उत्पादनमा स्थानीय बासिन्दालाई जोड्दै पालिकालाई कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्न प्रयास थालेको छ ।
कृषिलाई उद्योगका रूपमा विकास गर्ने क्रममा पालिकाले आफ्नै लगानीमा बकैया गाउँपालिका–७ स्थित हात्तीखोलामा कृषि उद्योग ग्राम निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योग ग्राममा पहिलो चरणमा साइलेस उद्योग र दाना उद्योग निर्माण गर्न दुवै उद्योगका लागि भवन निर्माणसँगै प्रशासनिक भवन, घेराबारलगायतका संरचना निर्माण भइसकेको छ । निर्माणाधीन दुई उद्योगमा गाई, भैँसी र बाख्राका दाना र साइलेस उत्पादन गरिने भएको छ ।
साइलेस उद्योग र दाना उद्योगका लागि पालिकाले बोलपत्र आह्वान गरेकोमा आपूर्तिकर्तासमेत छनोट भएर सम्झौतासमेत भइसकेको छ । बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले साइलेस उद्योग र दाना उद्योगको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले साइलेस उद्योग र दाना उद्योगका लागि आवश्यक मेसिनरी उपकरण खरिद गर्न आपूर्तिको चरणमा रहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, “दुवै उद्योगको मेसिनरी उपकरण गरी एक करोड १५ लाख रुपियाँको लागतमा आपूर्ति गर्ने गरी ठेक्का स्वीकृत भएको छ । भारतबाट मेसिनरी उपकरण आयात भएपछि जडान गरी छिट्टै सञ्चालनमा आउने छ ।”
अहिले मूलतः हरियो मकैको साइलेस उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको हो । मकैमा सुत्ला लागेपछि काटेर हावा नछिर्ने गरी ४५ दिनसम्म राखेर साइलेस उत्पादन गरिने साइलेस प्लास्टिकले बेरेर राख्ने र एक वर्षसम्म प्रयोग गर्न सकिने हुन्छ । साइलेस उद्योगबाट हाललाई पालिकाभित्रका किसानको माग र उपलब्ध कच्चा पदार्थको आधारमा उत्पादन गरिने भएको छ । कच्चा पदार्थको उपलब्धता र अन्यत्रका किसानको मागका आधारमा थप साइलेस उत्पादन गरी बिव्रmी गर्ने योजनासमेत रहेको गाउँपालिकाले जनाएको छ । ग्रामभित्रै मोलासेस मौज्दात गर्न ४० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरिएको छ । मोलासेस दाना र साइलेसमा प्रयोग गर्ने र किसानको माग अनुसार बिव्रmीसमेत गर्न सक्ने गरी संरचना निर्माण गरिएको छ ।
पालिकाले तयार पारेको विस्तृत परियोजना प्रस्ताव अनुसार कृषि उद्योग ग्रामको कुल लागत २७ करोड ७५ लाख ३५ हजार रुपियाँ रहेकोमा हालसम्म पालिकाले उद्योगका लागि पूर्वाधार निर्माणलगायतमा पाँच करोड २३ लाख ५० हजार रुपियाँ खर्च गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले कृषिका लागि उपयुक्त क्षेत्र रहेकाले पालिकाले कृषि प्रवर्धन र किसानको क्षमता वृद्धिमा लगानी गर्दै आएको बताउनुभयो । उहाँले किसानलाई पशुपालन गर भन्ने तर खानेकुरा नभएकाले गाई, भैँसीका लागि दाना र साइलेस उत्पादन गर्ने गरी कृषि उद्योग ग्रामको अवधारणामा पालिकाकै लगानीमा उद्योग स्थापना गर्न लागेको बताउनुभयो ।
अध्यक्ष लामिछानेका अनुसार बकैयाको किसानलाई सहुलियत र सजिलै रूपमा दाना तथा साइलेस उपलब्ध गराउने, दुग्ध उत्पादनमा वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउने हो । किसानलाई पशुपालनमा लाग्न उत्प्रेरित गरी पालिकाभित्रै रोजगारीको सिर्जना गर्ने उद्देश्य योजनामा रहेको बताइन्छ ।
ग्राममा स्थापना हुने दाना उद्योगको क्षमता प्रतिघण्टा एक टनको रहने भएको छ । पालिकाले कृषिलाई प्राथमिकता दिँदै चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरेको छ । दुधमा आत्मनिर्भर रहेको पालिकामा उत्पादित दुध हेटौँडासँगै ललितपुर, काठमाडौँलगायतका बजारमा बिक्री हुँदै आएको छ ।
सात बिघा क्षेत्रफलमा फैलिएको उद्योग ग्राममा प्राङ्गारिक मल कारखाना र कृषि औजार वर्कसपसमेत स्थापना गर्ने पालिकाको योजना रहेको छ । किसानलाई कृषि औजार भाडामा दिने र किसानका कृषि औजार मर्मत गर्ने गरी कृषि औजार वर्कसप स्थापना गरिने भएको हो । पालिका अध्यक्ष लामिछानेले उद्योग ग्राममा कृषिजन्य उद्योग स्थापना गर्न इच्छुक निजी क्षेत्रलाई जग्गा भाडामा समेत दिने गरी तयारी गरेको बताउनुभयो । पालिकाले उद्योग ग्राम व्यवस्थापन समितिमार्फत सञ्चालन गर्ने र यसका लागि कार्यविधि निर्माण अन्तिम चरणमा पु-याएको जनाएको छ ।