• १३ असोज २०८१, आइतबार

द्यौवादी डाँडामा पदमार्ग

blog

नवलपरासी समाचारदाता 

हुप्सेकोट, चैत १३ गते । आन्तरिक तथा बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले हुप्सेकोट गाउँपालिकाले द्यौवादी डाँडामा फुट ट्रेल (पदमार्ग) निर्माण गरेको छ । 

गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले जिल्लाको उच्च भागमा पर्ने द्यौवादीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पाँच किलोमिटर लामो पदमार्ग निर्माण गरिएको बताउनुभयो । गण्डकी प्रदेशको सदरमुकाम पोखरा पुग्ने मुख्य गन्तव्य पनि यहीँबाट हुने भएकाले यसको विकास गरिएको उहाँले बताउनुभयो । दलदलेबाट करिब २० किलोमिटर उत्तरमा रहेको यो ठाउँमा बाह्रै महिना जाडो हुन्छ । यहाँको प्राकृतिक दृश्य अवलोकनसँगै आन्तरिक तथा बाह्य पर्यटक भत्र्याउन सकियो भने मात्र पनि यहाँको विकासमा प्रभाव पर्ने अध्यक्ष पाण्डेले बताउनुभयो । पदमार्ग छ फुट चौडाइको सब स्ट्रक्चरसहित प्राकृतिक ढुङ्गा बिछ्याएर निर्माण भएको छ । यसलाई १० किलोमिटर बनाउने गरी प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष पाण्डेको भनाइ छ । 

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयबाट विनियोजित एक करोड रुपियाँको लागतमा निर्माण गरिएको हो । वडा नं. ५ का वडाध्यक्ष पदमबहादुर रानामगरले आन्तरिक तथा बाह्य पर्यटकका लागि लोभलाग्दो हुनाले दिनहुँ धेरै सङ्ख्यामा पर्यटक पुग्ने गरेको बताउनुभयो ।